काठमाडौं – बाजुरा जिल्लाको क्वारेन्टाइनमा आत्महत्या गरेका १ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका हुन् ।
आत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीवार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताएका छन् ।
बडिमालिका नगरपालिका–२ माझीगाउँका उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी दमको बिरामी रहेको मेयर बडुवालले बताएका छन् ।
बडुवालका अनुसार गत शुक्रवार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । ‘आर्थिक अवस्था निकै कमजोर थियो । गरीबीकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छौं । तर यकिन कारण अझै खुलेको छैन,’ उनले भने ।
आत्महत्यापछि उनको शवलाई क्वारेन्टाइनभन्दा तल खोला नजिक व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराइले बताएका छन् ।
‘आत्महत्या भए पनि कोरोना हुन सक्छ भन्ने आशंकामा हामीले पूरै प्रक्रिया पूरा गरेर शवको व्यवस्थापन गरेका थियौं,’ उनले भने, ‘कोरोना पुष्टि नहुँदै पनि कुनै लापरवाही गरेनौं ।’ उनको शव व्यवस्थापनमा उनका २ जना आफन्त नै खटिएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।