काठमाडौं–सत्तारुढ नेकपा नेतृत्वमा चलिरहेको खैलाबैला बालुवाटारमा नसुल्झिएपछि अन्यत्र सर्न थालेका छन् । समय व्यवस्थापनको कमजोरी या नियतवस,जे भए पनि सोमबार साँझ शीतल निवासमा दुई शीर्ष नेता जम्काभेटमा परे।
राष्ट्रपति विद्यादेवी भण्डारीले केही राजनीतिक विषयमा परामर्श गर्न नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बोलाएकी थिइन्। उनी बोलाइएकै समयमा पुगे, एकछिनमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली पनि पुगे।
राष्ट्रपतिले हालै संसदबाट पारित भएको संशोधित नक्सा संविधानको अनुसूचीमा राख्नका निम्ति भएको मतदानको सन्दर्भमा चर्चा गर्दै अध्यक्षद्वयलाई बधाई भनिन्।
प्रचण्डले भने त्यही संसदबाट पारित भएको विनियोजन विधेयक (बजेट) बारे गुनासो पोखे। ‘पहिला–पहिला हामी सत्तासाझेदार भन्ने हुन्थ्यो,अहिले त एउटै पार्टी भइसक्यौँ,’ प्रचण्डले भने, ‘बजेट यस्तो आउँदैछ, यो–यो विषयलाई यसरी, यति समावेश गरिँदैछ भन्ने कुराहरु त पत्तो नै नपाइने स्थिति रह्यो ।’
‘चितवनमा पुग्यो नि ?’
प्रधानमन्त्री केही जिज्ञासा राख्न खोख्न खोज्दै थिए, प्रचण्डले भने, ‘पर्टिकुलर जिल्ला,क्षेत्र,आयोजनाको कुरा भएन । समग्र बजेटको सैद्धान्तिक, कार्यक्रमिक,त्यसको आकारदेखि भाषा र नियतसम्मका कुरामा पार्टीभित्रै साथीहरुले अनेक कुरा उठाउन थाल्नुभएको छ । नभए मलाई पनि पार्टीको मन्त्रीले ल्याएको बजेट हो, त्यसैले समर्थन छ भन्नुपर्ने बाध्यता नहुने थियो होला ।’
प्रधानमन्त्रीले सोधे, ‘किन त्यसो भन्नुभएको त ?’
‘त्यति नभनेको भए साथीहरुलाई थेग्न गाह्रो हुने भइसकेको थियो । तपाईं बैठक, छलफल र बहसलाई छल्दै सरकार चलाउन खोज्ने, हामीले साथीहरुलाई कति थामथुम पार्ने?’ प्रचण्डले अलिक आक्रामक भएर जवाफ दिए।
उनको गुनासो थियो, ‘एमसिसीबारे कार्यदल बनाइसकेपछि त्यसको सुझावका आधारमा फेरि एकचोटि बैठकमा कुरा गरौँ भनेको हो । पार्टी एकता, राष्ट्रिय हितभन्दा एमसिसी ठूलो होइन भनेर म पटक–पटक भन्दैछु । तपाईंचाहिँ हामी दुईजना बसेर सुल्झाउने कुरामात्रै गर्नुहुन्छ ।’
एमसिसीबारे साथीहरुलाई मनाउन सकिने र त्यसका लागि दुई अध्यक्षबीच एकमत निर्माण हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । तर,प्रचण्डले त्यस्तो सम्भावना स्वीकारेनन्।
‘यदि हुन्थ्यो भने, तपाईं वामदेव मेरै पोल्टामा आए भन्ठान्नुहुन्थ्यो नि, अर्थमन्त्रीहरु सहित बसेको बैठकमा वामदेवजीले के भन्नुभयो ?सुन्नुभएको थियो नि’, प्रचण्डले भने, ‘अहिले तपाईंले विश्वास गर्नुभएका वादल,वामदेवहरु नै एमसिसी राष्ट्रघातको भनेर अभियानमा निस्कने स्थितिमा हुनुहुन्छ ।’
उनले वादलबारे भने, ‘पूर्वमाओवादीका नाममा हामीले बादललाई कतै अंकुश लगाएका छैनौँ। । तपाईं सरकारको प्रधानमन्त्री हो । उहाँ तपाईंको गृहमन्त्री हो । उहाँलाई तपाईंले नेतृत्व दिने,मन्त्रीका रुपमा काम गर्न उहाँले आफ्नो विवेक प्रयोग गर्ने । बस्,बादलबारे हाम्रो नीति यत्ति हो ।’
उनले थपे, ‘वादललाई तपाईं पूर्वमाओवादी हो,सरकारमा पूर्वमाओवादीको पोजिसनलाई इम्प्लिमेन्ट गर्नुस्,मैले जे भन्छु त्यसमा हिँड्नुस् भनेर आजसम्म मैले भनेको छैन । भन्दिनँ पनि । किनभने, वादलजत्तिको नेतालाई मैले सिकाइरहनुपर्ने,सम्झाइरहनुपर्ने होइन । उहाँ आफैँमा एकजना रणनीतिकार, नेतृत्वकर्ता भएको नाताले अरु पूर्वमाओवादीका मन्त्रीलाई केही भनिएको छ भने पनि वादलको हकमा केही नभनौँ है भनेर हामीले साथीहरुका बीचमा कुरा गरेकै छौँ । यसो भन्दा साथीहरुले (मन्त्री रहेकै साथीहरुले) बादल त अहिले पूरै ओली कित्तामा गइसक्नुभयो भन्ने कुरा ल्याउनुभयो । मैले भनेँ, हुन दिनुस् । पार्टी नै मिलिसक्यो भने वादल र केपी मिल्दा के बिग्रिन्छ र ?’
सडकमा देखिएका असन्तुष्टिवारे पनि त्यहाँ कुरा उठ्यो–प्रधानमन्त्रीले भने, ‘ए,कति थिए रे,दुई तीन सय जना ? एक लाखसम्म आउन दिनोस् न म सम्झाएर तिनलाई तितरबितर पारिहाल्छु नि !’
पछिल्लो समय एमसिसीका बारेमा प्रधानमन्त्रीले बढी नै भर गर्नुभएका नेताद्वय वामदेव र वादलले स्पष्ट भाषामा त्यसको समर्थन गर्न नसकिने बताइसकेको यो प्रसंग सिध्याएर प्रचण्डले कुरा लगे, आफूमाथिको अपमानतिर ।
‘प्रधानमन्त्रीमा आधा–आधा कार्यकालको सहमति भएको हो कि होइन, यो कुरा तपाईंले अरुलाई जे भने पनि तपाईं र मलाई त थाहा छ नि,’ प्रचण्डले भने, ‘एउटा प्रधानमन्त्रीको पदसँग पार्टी एकतामा सौदावाजी नगरौँ भन्ने थुुप्रै साथीहरुको धारणा आयो । त्यसपछि मैले पाँचै वर्ष केपी कमरेड प्रधानमन्त्री भनेँ । पार्टी चलाउने अध्यक्षका रुपमा मलाई भूमिका दिने भन्ने कुरा भयो । तर,बैठक बोलाउन नपाइने,बैठक बोलाए पनि त्यसले बैठकको मान्यता नपाउने,निर्णयहरु कार्यान्वयनको कुरा त परैको भयो,सुनुवाईसमेत नहुने स्थिति छ।’
यस्तो भयानक असन्तुष्टि सुनेपछि प्रधानमन्त्रीले ‘हैन,केही बिग्रिएको छैन । मिलाएर लैजान सकिन्छ’ भने। राष्ट्रपतिले खासै प्रतिक्रिया दिइनन्।
कुराकानीका क्रममा प्रचण्डले पटक–पटक संकेत गरेको विषय हो, सरकार र पार्टीको भविष्य सोचेजस्तो हिसाबको छैन,आन्तरिक असन्तुष्टि विष्फोटउन्मुख छ । जनआस्था साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।