आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दिव्या शाहका लागि केपी ओली बद्नाम ! यस्तोसम्म गरेको खुलासा

दिव्या शाहका लागि केपी ओली बद्नाम ! यस्तोसम्म गरेको खुलासा

  • मिडिया डबली
  • बिहिवार, आषाढ ४ २०७७

  • 114.8K
    SHARES

  • दिव्या शाहका लागि केपी ओली बद्नाम ! यस्तोसम्म गरेको खुलासा

    काठमाडौं – त्रिभुवन विश्वविद्यालयले डा. दिव्या सिंह शाहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीन नियुक्त गरेको छ ।

    विश्वविद्यालयको कार्यकारी परिषद्ले वरिष्ठताका आधारमा डीन नियुक्त गर्ने पद्धति मिचेर शिक्षण अस्पताल महाराजगन्जको मिर्गौला विभाग प्रमुख शाहलाई नियुक्ति दिएको हो ।

    त्रिभुवन विश्वविद्यालय स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबका कारण उपकुलपति डा. धर्माकान्त बाँस्कोटा शाहलाई डीन नियुक्त गर्न बाध्य भएका हुन् । ‘उहाँ बैठकमा आउँदा नै प्रधानमन्त्रीज्यूको यस्तो आग्रह छ भनेर प्रस्तुत हुनुभयो र त्यही निर्णय नै गराउनुभयो,’ स्रोतले भन्यो । डीन नियुक्त गर्न सिफारिस कमिटीले क्रमशः डा. प्रदीप वैद्य, डा. शाह र उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

    विश्वविद्यालयका उपकुलपति बाँस्कोटाले वरिष्ठता र क्षमताका आधारमा शाहलाई नियुक्त गरिएको दाबी गरे । एक नम्बरमा नाम सिफारिस भएका वैद्यलाई पन्छाएर दुई नम्बरमा नाम सिफारिस गरिएकी शाहलाई नियुक्ति दिइएको हो । आईओएम उच्च स्रोतबाट प्राप्त अध्यापकहरूको वरिष्ठता क्रम हेर्दा ५५ वर्षीया डा. शाह ३३ औं नम्बरमा पर्छिन् ।

    त्रिवि कार्यकारी परिषद्ले जेठ २२ गतेदेखि रिक्त डीन नियुक्ति गर्न डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय सिफारिस कमिटी गठन गरेको थियो । डा. जगदीश अग्रवालले उमेर हदका कारण अवकाश पाएपछि आईओएम डीनविहीन बनेको थियो । सिफारिस कमिटीमा डा. सुवास आचार्य र डा. जीवन शेरचन सदस्य थिए ।

    त्रिवि ऐनमा सर्च कमिटीले नाम सिफारिस गरेका आधारमा कार्यकारी परिषद्ले डीन नियुक्ति गर्ने व्यवस्था छ । तर विश्वविद्यालय स्रोत सिफारिस समितिका पदाधिकारीहरूकै भूमिकामा प्रश्न उठ्ने बताउँछ । स्रोतको भनाइमा आफू अनुकूल नियुक्ति गर्न हाल विश्वविद्यालयको सेवाबाहिर रहेका डा. प्रेम ज्ञवालीलाई सदस्य बनाइएको हो । अर्का सदस्य डा. जीवन शेरचन पनि अवकाश पाइसकेका व्यक्ति हुन् ।


    प्रधानमन्त्री तथा कुलपति ओली र उपकुलपति बाँस्कोटाले शाहलाई नियुक्ति गर्ने तयारी गरेको चर्चा अग्रवालको कार्यकाल सकिनु अघिदेखि नै थियो । प्रधानमन्त्रीनिकट रहेकै कारण डा. शाहले चिकित्सा शिक्षा आयोगको सदस्यलगायत थुप्रै पदमा नियुक्ति पाउँदै आएकी छन् । ग्रान्डी अस्पतालमा समेत मानव अंग प्रत्यारोपण विभाग प्रमुखको जिम्मेवारीमा रहेकीले उनीमाथि नैतिक प्रश्न उठ्दै आएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    डा. शाहको भूमिका यतिमा मात्रै सीमित छैन । राज्यमन्त्रीसरहको सुविधा लिने उनी प्रधानमन्त्रीकी निजी चिकित्सक हुन् । स्वास्थ्य विभागअन्तर्गतको मानव अंग प्रत्यारोपण समन्वय समितिको संयोजकको जिम्मेवारीमा पनि उनै छिन् । यसअघि सत्तारूढ दलनिकट चिकित्सकहरूको भेलामा उपकुलपति बाँस्कोटाले कुलपति ओलीको इच्छाअनुसार शाहलाई डीन नियुक्ति गर्ने बताएको आईओएमका एक चिकित्सकले बताए ।

    २०६७ पछि डा. गोविन्द केसीको पटक–पटकको आन्दोलनका कारण आईओएममा वरिष्ठताका आधारमा डीन नियुक्ति हुँदै आएको छ । केसीले २ हप्ताअघि पनि विज्ञप्ति जारी गरेर वरिष्ठताका आधारमा डीन नियुक्ति गर्न आग्रह गरेका थिए । वरिष्ठताको आधारको सूचीमा नवनियुक्त डीन शाहको नाम ३५ औं नम्बरमा छ । डा. अग्रवाल र डा. अरुण सायमीले जेठ २२ गते अवकाश पाएपछि उनको स्थान ३५ बाट ३३ मा पुगेको छ । डा. गीता सायमी, डा. प्रेमकृष्ण खड्काले पनि भदौ २० गते अवकाश पाउँदै छन् । त्यसपछि २०८० कात्तिकमा अनिवार्य अवकाश पाउने योगेन्द्रप्रसाद सिंह आईओएममा वरिष्ठ हुन् ।

    पूरा कार्यकाल काम गर्ने डीन खोजी गर्दा शाहलाई नियुक्त गर्नुपरेको उपकुलपति बाँस्कोटाले दाबी गरे । तर २०८३ कात्तिकमा अवकाश पाउने १ नम्बरमा नाम सिफारिस भएका वैद्य शाहभन्दा वरिष्ठ हुन् । ‘शाहभन्दा वरिष्ठ १० जनालाई छोड्दा पनि उहाँ २५ औं नम्बरमा पर्नु हुन्छ । उहाँभन्दा क्षमतावान् र वरिष्ठ अरू प्राध्यापक पनि छन्,’ आईओएमका एक प्राध्यापकले भने, ‘प्रधानमन्त्रीको नजिक भएकै कारण राजनीतिक भागबन्डामा दिव्या म्याडमलाई नियुक्ति दिइयो ।’

    शाहले २०८५ चैतमा अनिवार्य अवकाश पाउने छिन् । उनी २०७१ असोजमा प्राध्यापक नियुक्ति भएकी थिइन् । सिफारिस कमिटीले नै वरिष्ठताका आधारमा डीन नियुक्ति गर्ने व्यवस्था ल्याउँदै नाम सिफारिस गरेको ती प्राध्यापकले बताए । तेस्रो नम्बरमा नाम सिफारिस भएका श्रेष्ठ वरिष्ठता सूचीमा ४३ नम्बरमा छन् ।

    डा. केसीको आन्दोलनपछि डा. राकेश श्रीवास्तव र डा. अग्रवाल वरिष्ठताका आधारमा डीन नियुक्त भएका थिए । वरिष्ठता मिचेर डीनको जिम्मेवारी दिएका डा. बाँस्कोटासहित केपी शर्मा र शशि शर्माले काम गर्नै नपाई पद छाड्न बाध्य भएका थिए । शर्माका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण उत्पन्न विवादले नयाँ मोड लिएर उमेरबारे नयाँ तथ्य खुल्दा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त हुनुपरेको थियो ।

    आईओएम डीन नियुक्तिमा सधैं किचलो भइराख्ने कारण वरिष्ठताको नयाँ मापदण्ड बनाएर नियुक्ति दिइएको बाँस्कोटाले जनाए । ‘कम्तीमा ५ वर्षको प्राध्यापक अनुभव भएको र पूरा ४ वर्षे कार्यकाल समय दिन सक्ने डीनको खोजी गरिएको हो,’ उनले भने, ‘त्यस्तो मापदण्डका १४ प्राध्यापक भेटिए, महिलालाई प्राथमिकता दिऊँ भनेर शाहलाई नियुक्ति दिइयो,’ उनले भने । वैद्य र श्रेष्ठले आईओएमभित्रै उत्कृष्ट कार्य गरिराखेकाले थप जिम्मेवारी नदिएको उनले जनाए । मेडिकल विद्यार्थी एसोसिएसनले भने राजनीतिक चलखेल, निकटता र भागबन्डाका आधारमा डीन नियुक्ति गरिएको भनेर आपत्ति जनाएको छ । एसोसिएसनले विज्ञप्ति निकालेर वरीयता मिचेर डीन नियुक्त गरिनु लज्जास्पद भएको बताएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ४ २०७७०८:१८:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend