काठमाडौं – कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।
सार्वजनिक यातायात सञ्चालनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरबीच छलफल चलिरहेको विभागका महानिर्देशक गोगन हमालले बताएका छन् ।
महानिर्देशक हमालले सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्तावसहित निर्देशिका तयार गरेको बताएका छन् । तर विभागले बनाएको निर्देशिकामा व्यवसायीले भने सहमति जनाएका छैनन् ।
विभागका महानिर्देशक हमालले भने, ‘सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन मापदण्ड बनाएको हो, यसलाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल भइरहेको छ ।’ सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।
तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सामाजिक दूरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरुको खर्च समेत नउठ्ने जनाएको छ । सरकारले भाडा वृद्धि गर्ने मात्र नभइ अनुदानको व्यवस्था पनि गर्नुपर्ने महासंघको माग रहेको छ ।
महासंघका महासचिव सरोज सिटौलाले भने, ‘विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुँदैन ।’ ठूला बसबाहेक ट्याक्सी, ट्याम्पोको पनि न्याय गर्ने व्यवस्था ल्याउनुपर्ने भन्दै महासचिव सिटौलाले अनुदान दिएर लगानीको सुरक्षा दिनुपर्ने बताए ।
माग सम्बोधन भए सरकारले भनेकै मितिबाट गाडी चलाउन थाल्ने व्यवसायीको तयारी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।