काठमाडौं – गत शनिवार प्रतिनिधिसभा बैठकमा भएको संविधान संशोधनमा अनुपस्थित हुने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दलका ४ जना सांसदलाई नेकपाले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
नेकपाको संसदीय दलले ४ जना सांसदलाई लिखित स्पष्टीकरण सोधेको छ । नेपाल सरकारले जेठ ७ गते भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूभाग समेटेर राजनीतिक नक्शा प्रकाशन गरेको थियो ।
नक्शालाई निशान छापमा अद्यावधिक गर्नका लागि संविधान संशोधन भएको छ । संविधान संशोधनमा सबै दलले एकमत भएर पक्षमा भोट हालेका थिए ।
सत्तारुढ दलकै ४ जना सांसद संविधान संशोधनमा अनुपस्थित देखिएका थिए । अनुपस्थित भएका चारै जना सांसदलाई नेकपाको संसदीय दलले स्पष्टीकरण सहितको पत्र पठाएको छ ।
पत्रमा उल्लेख छ, ‘दलको विधानको दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनुभएको हो ? पत्र प्राप्त भएको मितिले ५ दिनभित्र दलको कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिनु हुन निर्देशन गरिन्छ ।’
नेकपा संसदीय दलले संविधान संशोधनका पक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप नै जारी गरेको थियो । दलको ह्वीप नै नमानेर विना सूचना अनुपस्थित भएकाले चारै जनालाई संसदीय दलले पत्र पठाएको नेकपा स्रोतले जनाएको छ ।
बैठकमा अनुपस्थित हुनेमा हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम र शिवकुमार मण्डल छन् । संसदीय दलको कार्यालयको पत्रमा ५ दिनभित्रमा दलको कार्यालयमा उपस्थित भई लिखित रूपमा स्पष्टीकरण दिन निर्देशन गरिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।