काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले आईतबार एक सूचना जारी गर्दै काठमाडौं प्रवेश गर्न चाहनेलाई विभिन्न चरण पार गर्दै सवारी पास लिनुपर्ने व्यवस्था गर्यो ।
काठमाडौंको स्थानीय तहको अनुमति लिएर यात्रा प्रारम्भ गर्ने जिल्ला प्रशासनको स्वीकृतिमा काठमाडौं आउनुअघि प्रशासन कार्यालयबाट पास लिन सकिने व्यवस्था काठमाडौं प्रशासनले गर्यो ।
यसरी काठमाडौं प्रवेश गर्नका लागि पास दिने व्यवस्था प्रमुख जिल्ला अधिकारी (सीडीओ) को क्षेत्राधिकारभित्र राखिएको थियो । असार १ गते सोमबारदेखि लागू हुने जोर–बिजोर प्रणाली पास लिएका सवारीसाधनको हकमा लागू नहुने व्यवस्था समेत थियो ।
तर मन्त्रिपरिषद्को निर्णय अनुसार लागू भएको जोर–बिजोर प्रणालीमा समस्या हुने देखिएपछि सरकारले देशभरका सबै पास खारेज गरिदिएको छ । देशभरका सीडीओलाई निर्देशन दिँदै गृह मन्त्रालयले हालसम्म जारी भएका सबै सवारी पास खारेज भएको जानकारी दिएको छ ।
सीडीओ कार्यालयहरूले सवारी पास दिइरहेका बेला गृह मन्त्रालयबाट आकस्मिक निर्देशन गरेर पास दिने व्यवस्था खारेज गरिएको छ भने हालसम्म दिइएका पास समेत रद्द भएका छन् ।
लकडाउन खुकुलो बनाएर जोर–बिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको जनाइएको छ । सवारी पासले जोर–बिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले पास खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताएका छन् ।
अब पास विना पनि जोर–बिजोर प्रणालीका आधारमा निजी सवारीसाधन निर्वाध रुपमा सञ्चालन हुन पाउने भएका छन् । लकडाउन खुकुलो पार्ने सरकारी नीति अनुसार सोमबारदेखि निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।