काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला १००% पीसीआर टेस्टको माग गर्दै कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशी नागरिकलाई अध्यागमन विभागले २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी देश निकाला गरेको छ ।
अन्तर्राष्ट्रिय हवाई उडान खुलेपछि नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी देश निकाला गरिने अध्यागमन विभागका महानिर्देशक रमेश केसीले बताएका छन् ।
पक्राउ परेका ६ जनामध्ये १ नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका कारण उनलाई भने जरिवाना मात्रै गरिएको छ । जेठ ३१ गते सरकारविरुद्ध आह्वान गरिएको प्रदर्शनमा ३ चिनियाँ नागरिक ४० वर्षीया महिला क्वीन लि, २६ वर्षीय लिउ सु र ३० वर्षीय यानन जिया, अस्ट्रेलियन नागरिक २४ वर्षीय कलानी गाकोन, ३२ वर्षीय अमेरिकी नागरिक स्टेफनी एनथमसन र ३१ वर्षीया नर्वेजियन महिला मरिता लिभरोद सरकारविरुद्ध प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका थिए ।
महानिर्देशक केसीका अनुसार प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये नर्वेजियन नागरिक मरिता लिभरोदलाई ५ हजार जरिवाना मात्रै गराइएको छ । बाँकी ५ जनामध्ये ३ चिनियाँ र १ अमेरिकी नागरिकलाई १० हजार जरिवाना र २ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ ।
अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई २ वर्ष नेपाल प्रवेश गर्न रोक लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको अध्यागमन विभागले जानकारी दिएको छ ।
काठमाडौंको माइतीघरमा फेसबुक ग्रुपमार्फत भेला भएका आन्दोलनकारीसँग आन्दोलन गरिरहेका बेला विदेशीहरू पक्राउ परेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।