काठमाडौं – विगत ८३ दिनदेखि बन्द रहँदै आएका देशभरका सरकारी कार्यालय आज असार १ गतेदेखि २ सिफ्टमा सञ्चालनमा आउने भएका छन् ।
लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेक अधिकांश कार्यालयहरू बन्द रहँदै आएका थिए ।
गत २८ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई केही खुकुलो बनाउने र असार १ गतेदेखि देशभरका सरकारी कार्यालयको सेवाप्रवाह सञ्चालन गर्ने निर्णय गरेसँगै आज सोमवारदेखि सबै सरकारी कार्यालय खुल्ने भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयलाई पत्राचार गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन गर्न भनेको छ । कार्यालय प्रभावकारी रूपमा सञ्चालन भए–नभएको बारेमा प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन गर्नेछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बिहान ६ बजेदेखि १ बजेसम्म एउटा सिफ्ट र १ बजेदेखि बेलुका ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टमा कार्यालयहरू सञ्चालन हुने बताए । प्रवक्ता पौडेलका अनुसार कार्यालय प्रमुखले संक्रमण फैलिन नदिनका लागि सुरक्षाका सबै सामग्री प्रयोग लगायत सबै व्यवस्थापन गर्नुपर्ने गरी निर्देशन दिइएको छ ।
कार्यालयको सवारी उपलब्धता तथा प्रायोजनसमेतका आधारमा तथा कार्यालय आगमनको अवस्था समेतलाई विश्लेषण गरी कार्यालय प्रमुखले दुई सिफ्टमा सेवा सञ्चालन गर्ने गरी व्यवस्थापन गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुखले कर्मचारी कार्यकक्षमा रहँदा भौतिक तथा सामाजिक दूरी कायम गर्ने र गराउनुपर्ने तथा सेवाग्राहीलाई समेत सुरक्षित किसिमले सेवा लिने व्यवस्था मिलाउनुपर्नेछ । सबै कार्यालयलाई कार्यालय छिर्नेबित्तिकै देख्ने गरी भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने विषयको सूचना टाँस्नसमेत निर्देशन दिइएको छ ।
सबै कार्यालयले स्वास्थ्य सामग्री (मास्क, सेनिटाइजर, थर्मल गन आदि)को व्यवस्था गर्नुपर्ने र कार्यालयको शौचालय तथा वरपरको वातावरण पनि सफा र स्वच्छ बनाउनुपर्नेछ ।
कार्यालयको सेवामा प्रविधिको प्रयोगलाई उच्चतम प्रयोग गर्नुपर्ने, भीड हुने कार्यालयले आवश्यकताका आधारमा टोकन प्रणाली कायम गर्नुपर्ने र नगदमा गर्ने कारोबार बैंकमार्फत गराउन पनि संघीय मामिला मन्त्रालयले सबै कार्यालयलाई पत्राचार गरेको छ । भीडभाड हुने कार्यालयले सेवाग्राहीको कोटा निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
तत्काल आइपर्ने सबै विषयलाई कार्यान्वयन गर्न आवश्यक समन्वय तथा सहजीकरण सहयोग एवं अनुगमन गर्ने जिम्मेवारी स्थानीय स्तरमा जिल्ला प्रशासन कार्यालयलाई र केन्द्रीयस्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार आजबाट निजी कार्यालय, उद्योग, विद्यालयका कार्यालय र बैंकहरू समेत खुला रहने भएका छन् । विद्यालयका कार्यालय खुला रहेपनि पठनपाठन भने सञ्चालन हुने छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।