काठमाडौं–पहिलो पटक अर्थमन्त्री भएपछि श्वेतपत्र निकालेर अर्थतन्त्रको खराव अवस्था चित्रण गरेका डा. युवराज खतिवडालाई तेस्रोपटक बजेट ल्याउँदै गर्दा त्यही श्वेतपत्र गलपासोजस्तो भएको छ । भन्सारका मुहान सफा गर्ने, राजस्वमा उल्लेख्य वृद्धि गर्ने र अर्थतन्त्रको आधारशीला तयार गर्ने महत्वकांक्षा बोकेर सरकारको ढुकुटी सम्हाल्ने अवसर पाएका मन्त्री डा। खतिवडा अपेक्षाअनुसार राजस्व संकलन नभएपछि तलब खुवाउने स्रोतको जोहो गर्नु पर्ने दबाबमा छन् ।
करिब २७ महिनाअघि डा. खतिवडाले श्वेतपत्रमार्फत त्यतिबेलाको सरकार गठन हुँदाको अवस्थामा नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण रहेको तथा अर्थतन्त्रका परिसूचक सकारात्मक नभएको र व्यावसायिक वातावरणसमेत नभएको जिकिर गरेका थिए ।
५ वर्षकालागि निर्वाचित दुईतिहाई नजिकको वाम सरकारले हालै मात्रै तेस्रो बजेट सार्वजनिक गरिरहँदा उनले अढाई वर्षअघि चित्रण गरेको अर्थतन्त्रको अतिरञ्जित तथ्यांकभन्दा खराब अवस्था देखिएको छ ।
वाम सरकारले विद्वान अर्थमन्त्री पाएको भनेर वाहवाही कमाएका खतिवडाले श्वेतपत्र मार्फत त्यतिबेला नै बजेट अनुशासन उल्लंघन भएका कारण सरकारी ढुकुटी रित्तो अवस्थामा भएको अभिव्यक्ति दिएका थिए । अहिले दोस्रो बजेट कार्यान्वयनकै क्रममा आफैंले बजेट अनुशासन उल्लंघन गरेको, विकास खर्च बढाउन नसकेको र अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरेको भन्दै आफ्नै सरकार तथा प्रतिपक्षबाट समेत आलोचित बनेका छन् । अर्थमन्त्रीले चालेका कदमले पछिल्लो समय सरकारको ढुकुटी टाट पल्टिएको छ भने राजस्वको खाडल कोरोना महामारीले झनै गहिरिएको अर्थशास्त्रीहरूको भनाइ छ ।
अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘पहिलोपटक अर्थमन्त्री हुँदा श्वेतपत्र निकालेर विगतका सरकारलाई डोमिनेट गर्नेगरी निकै उग्र कुरा गर्नु भयो, त्यो हदसम्म जानु हुन्थेन ।’ उनले अर्थतन्त्र बुझेको र अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनसक्ने खुवी भएका वौद्धिक ब्यक्तिलाई सरकारले अर्थमन्त्रीका रूपमा पाएको भनेर आशा गर्ने ठाउँ अब नरहेको बताए । ‘अर्थतन्त्र ठप्प हुँदा आम्दानी सुक्दा समेत अर्थमन्त्रीले साँसदलाई दुई दुईवटा शीर्षकमा सांसदलाई पैसा दिनुभयो, उहाँले आफ्नो विवेक प्रयोग गर्न सक्नुभएन,’ उनले भने, ‘यत्रो दबाबसँगै कोरोना महामारीको बिचमा पनि अनुत्पादक क्षेत्रमा खर्च घटाउने काम गर्नसक्नु भएन, यो त झनै लाजमर्दो नै भयो ।’
अर्थमन्त्रीले श्वेतपत्रमार्फत अर्थतन्त्रमा संरचनात्मक समस्या भएको, बजेट परम्पारागत ढंगले आउने गरेको, राजस्वले चालू खर्च धान्नसक्ने स्थिति नभएको आर्थिक वृद्धिदर औषत ४ प्रतिशत माथि जान नसकेको बताएका थिए । अर्थमन्त्री बनेर तेस्रोपटक बजेट सार्वजनिक गरेका खतिवडालाई अहिले उनैले ल्याएको श्वेतपत्रमा उल्लेख गरेझैं अर्थतन्त्र डुबाएको आरोप लागेको छ । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार समेत रहिसकेका आचार्य भन्छन्, ‘उतिबेला त्यसरी नियतवस अर्थतन्त्रको खराब चित्रण गरियो, अहिले ऋण लिएर तलब खुवाउनु पर्ने अवस्था सिर्जना भएको छ ।’
यतिबेला कोरोना भाइरसको महामारीकाकारण मुलुकको अर्थतन्त्र ठप्प हुँदा सरकारको राजस्वको असुलीमा गम्भीर धक्का लागेको छ । करिब ९० प्रतिशत राजस्व उठाउनु पर्ने समयमा राजस्व असुली ६० प्रतिशत पनि पुगेको छैन । कोरोना महामारीले सरकारको बिकास खर्च पनि ठप्प छ भने चालू र वित्तीय खर्च ह्वात्तै बढेको छ । सरकारी निकायको आय ब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयका तथ्याँक अनुसार चालू आर्थिक वर्षको ११ महिनामा सरकारको कुल आम्दानी लक्ष्यको करिब ५८ प्रतिशतमात्रै छ । जेठको अन्तिम सातासम्म सरकारले जम्मा ६ खर्ब ८४ अर्ब ८३ करोड रूपैयाँ राजस्व असुली गरेको छ । यसमध्ये कुल प्राप्तिमा करतर्फबाट ५ खर्ब ८५ अर्ब,४१ करोड, गैरकर तर्फ ५९ अर्ब ४१करोड र अनुदान एवं अन्य आम्दानी ५५ अर्ब रहेको महालेखा नियन्त्रक गोपीनाथ मैनालीले जानकारी दिए ।
‘यो लक्ष्यको तुलनामा करिब ५८ प्रतिशत मात्रै हो, यसबाहेक अन्य खर्च भने सकरारले आन्तरिक ऋण, वैदेशिक सहायताबाट खर्चिरहेको छ,’मैनालीले भने ।
यो अवधिसम्म साधारण, पुँजीगत र वित्तीय व्यवस्थापन गरी ८ खर्ब ७५ अर्ब रूपैयाँ खर्च भएको छ । त्यसमध्ये ६ खर्ब ९९ अर्ब चालु र १ खर्ब २४ अर्ब पुँजीगत रहेको छ भने वित्तीय व्यवस्थापन तर्फ ८६ अर्ब रुपैयाँ खर्च भएको छ । मैनालीले भने, ‘कतिपय आयोजनाको भुक्तानी भएपनि रिपोर्टिङमा ढिलाई हुँदा विकास खर्चको आकार बढ्न सक्ने देखिन्छ ।’
महालेखाका अनुसार चैत ११ देखि जेठको अन्तिम सातासम्म सरकारले जम्मा ६२ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व निकै खुम्चिए पनि खर्च भने घट्ने अवस्था छैन । लकडाउनको अवधिमा मात्रै सरकारी ढुकुटीको १ खर्ब ९५ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । यसको चाप राजस्व खातामा परेको छ ।
पूर्ववर्ति सरकारलाई बदनाम गर्नेगरि अर्थमन्त्रीले श्वेतपत्र निकालेको र अहिले तेस्रो बजेट सार्वजनिक गर्दा समेत कुनै शैलीमा फेरबदल नभएको अर्का अर्थशास्त्री डा। गोबिन्द नेपालको तर्क छ । ‘जुन ढंगले उहाँले श्वेतपत्र निकाल्नु भयो, त्यो स्पिरिटमा काम गर्न सक्नुभएन,’ अर्थ मन्त्रालयका पूर्व प्रमुख आर्थिक सल्लाहाकार तथा योजना आयोगका सदस्यसमेत रहिसकेका डा. नेपालले भने, ‘अहिले काम गर्न नसकेको समयमा कोरोना महामारी एउटा गतिलो बहाना बन्यो ।’ उनले नेपालमा कोरानाको प्रभाव नदेखिँदै पनि राजस्व असुली लक्ष्यअनुसार नभएको स्मरण गरे । चालू आर्थिक वर्षको सुरुवाती समयदेखि नै अर्थतन्त्रमा काला धब्बाहरू देखिन थालेको र अन्तिम चैमासिकमा कोरोना महामारीको प्रवेशले अर्थतन्त्र झनै जर्जर बनेको नेपालले बताए ।
‘लक्ष्य नभेटिएरै मध्यावधि समीक्षामार्फत लक्ष्यमा संशोधन गरियो तर कोरोनाका कारणले संशोधित लक्ष्य पनि नभेटिने अवस्था देखियो,’ उनले भने, ‘अर्थमन्त्रीज्यूले शिथिल भएको अर्थतन्त्र चलायमान बनाउने कदम नचाले कर्मचारीलाई तलब खुवाउनै गाह्रो पर्ने देखियो ।’
सरकारले यो वर्ष १ खर्ब ६५ अर्ब आन्तरिक ऋण र १ खर्ब ९ अर्ब २८ करोड वैदेशिक सहायता प्राप्त गरेको छ । ऋणका कारण सरकारको खाता ५० अर्बमात्रै बचतमा छ ।
खतिवडाले कोरोना नियन्त्रणकालागि गरिएको लकडाउनकै बीचमा व्यवसायीलाई कर तिर्न ताकेता गरेपछि सर्वोच्च अदालतले निजी क्षेत्रमा सन्त्रास सिर्जना गर्न खोजेको भन्दै लकडाउनको अवधिलाई शून्य समय मान्न र कर तिर्न लकडाउन खुलेको ३० दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
कोरोनाका कारण गरिएको लकडाउनलाई शून्य अवधि मान्नुपर्ने नजिरलाई लिएर सर्वोच्च अदालतले कर उठाउन दिईएको समय उचित नभएको भन्दै अन्तरीम आदेश जारी गरेपछि सरकारलाई अर्को संकट खडा भएको छ । अर्थमन्त्रीले श्वेतपत्र मार्फत निजी क्षेत्र प्रतिस्पर्धी नभएको बित्तिय सेवाको पहुच न्यून भएको, नेपालको पुुँजीबजार सतही रहेको र दायरा संकुचित रहेको बताएका थिए । यस्तै उनले चालु खाता र शोधानान्तर घाटा बढ्न थालेको विदेशी मुद्रा संचितीमा चाप पर्न थालेको र सार्बजनिक खर्च ब्यवस्थापनमा चालू खर्चको आकार बढ्दै गएको बताएका थिए । अर्थशास्त्री आचार्य भन्छन्, ‘पछिल्लो तीन महिनाको समयलाई छोडेर हेर्ने हो भने पनि मुलुकको अर्थतन्त्रमा कहिँ कतै सुधार भएको छैन झनै जर्जर बनेको छ ।’ कारोबार दैनिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।