काठमाडौं–नेकपाको सचिवालय बैठक आजलाई बोलाइएको छ । त्यहि मेसोमा वामदेव गौतमलाई अर्थमन्त्री बनाउने भन्दै ‘हरियो घाँस’ देखाउन थालिएको बताइन्छ । अर्थमन्त्री खतिवडालाई हटाएर गौतमलाई अर्थमन्त्री बनाउने भनिएको धेरै अघिको प्रस्ताव पुनः ब्युँताइएको हो । गौतमसमक्ष हालै एउटा प्रस्ताव पुगेको छ ‘तपाईंलाई पार्टी वा सरकारमा जे जस्तो जिम्मेवारी दिने हो,हामीले दिने हो । माधव, झलनाथ वा प्रचण्डले होइन, यसलाई त्यसरी नै बुझ्नुहोला कमरेड !’
प्रधानमन्त्रीले राखेको प्रस्ताववारे बेलिबिस्तार लाउँदै स्रोत भन्छ ‘तपाईंलाई प्रधानमन्त्री बनाउन यतिखेर संविधान नै बाधक भयो । हिजो जे भयो, भयो । अब तपाईं उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको लागि तयार हुनुहोस् ।’ प्रस्ताव सुनेपछि कसैले सोधेको थियो ‘उहाँलाई उपप्रधानमन्त्री बनाएपछि ईश्वर कमरेडलाई के गर्नुहुन्छ नि ?’ ‘ईश्वरलाई पार्टीभित्र व्यवस्थापन गरिन्छ । किन चिन्ता लिनुहुन्छ !’ आएको जवाफ यही हो ।
गौतमलाई थप भनिएको छ ‘तपाईं एउटा विकासवादी सोच भएको नेता हुनुहुन्छ । हिजोका दिनमा तपाईंले सहयोग नगर्नुभएको भए न ओली कमरेड अध्यक्ष बन्नुहुन्थ्यो,न प्रधानमन्त्री नै । त्यसैले तपाईंको गुन तिरिन्छ ।’ भोलिको सचिवालय बैठकमा यहि पासा फालेर सम्भवतः वामदेव गौतमलाई फेरि मूर्ख बनाई आवश्यक बहुमतका साथ एमसिसी पारित गराउने रणनीति रहेको बुझिएको छ ।
पछिल्लो केही समयदेखि सचिवालयमा वामदेव गौतमको निर्णायक भूमिकाका कारण धेरैवटा विषयमा प्रधानमन्त्री अल्पमतमा पर्दै र फेरि फकाएर उम्कदै आएका छन्। प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति उक्त संसदको कार्यकालभर मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ । तर,बालुवाटार स्रोतले आफ्नै ढंगले गरेको व्याख्यामा गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनाउन कुनै संवैधानिक अवरोध छैन । जनआस्था साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।