काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाममा १० अर्ब खर्च भएको भने पनि जनताले सुविधा नपाएपछि सरकारसँग हिसाब माग्ने आन्दोलन देशभर भइरहेको छ । सचेत युवाहरू हिसाब माग्दै कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलित छन् ।
यस्तै बेला वीरगञ्जमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सम्वद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकारविरूद्ध गरेको प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेविसंघ पर्सा र इकाई कमिटीको संयुक्त नेतृत्वमा भएको प्रदर्शनका क्रममा नेविसंघका जिल्ला सभापति विकास तिवारी, ठाकुरराम इकाई सभापति मनोज साह, जिल्ला उपाध्यक्ष शेष, सहसचिव श्याम रमेश यादव, पुर्व प्रदेश सदस्य अभय कर्ण, श्याम गुप्ता पक्राउ परेका छन् ।
कोरोना भाइरस महामारी नियन्त्रणमा सरकारको प्रभावकारी काम गर्न नसकेको भन्दै तीनै तहको सरकारको विरूद्धमा प्रदर्शन गरिएको छ ।
वीरगञ्जको महावीरस्थान चोकबाट सुरू भएको प्रदर्शन घण्टाघर चोकमा आएर टुंगिएको थियो । प्रदर्शनका क्रममा प्रधानमन्त्री ओली र २ नम्बर प्रदेशका मुख्यमन्त्रीको पुतलादहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेप गर्ने क्रममा प्रहरीले गरेको लाठीचार्जका कारण नेविसंघका दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते समेत भएका छन् ।
इकाई अध्यक्ष मनोजकुमार साहको ढाडमा गम्भीर चोट लागेको छ । हिरासतमा रहेका उनलाई अस्पताल नलगिएको नेविसंघको दाबी छ ।
‘सर्वसाधारणको घरभाडा, बैंक ब्याज, कर, विद्युत् महशुल माफ गर’, ‘सर्वसाधारण उपचारको खोजमा, सरकारको भ्रष्टाचारको मौजमा’, ‘हन्ड्रेड पर्सेन्ट पीसीआर’, ‘कालापनी, लिपुलेक होम्रो हो’, ‘सरकार खै ? १० अर्बको हिसाब खै ?’, ‘कर केका लागि ?’ लगायतका नारा लेखिएका प्लेकार्डसहित नेविसंघ प्रदर्शनमा उत्रिएको थियो ।

शान्तिपूर्ण रुपमा गर्न खोजिएको प्रदर्शनका क्रममा भएको प्रहरी हस्तक्षेप उचित नभएको नेविसंघका पदाधिकारीको भनाइ रहेको छ ।
नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको दमन लज्जास्पद भएको बताएका छन् । ‘सरकार आफैले १० अर्ब खर्च भयो भने हो, अहिले ८ अर्बको हिसाब मात्रै सार्वजनिक गरिरहेको छ,’ नेता खतिवडाले भने, ‘जनताले २ अर्ब कसले खायो भनेर सोध्न पाउने कि नपाउने ? जनताले हिसाब माग्न पाउने कि नपाउने ?’

लोकतान्त्रिक अधिकार प्रयोग गर्दै जनताले प्रदर्शन गर्दा दमन हुनु अधिनायकवादी शैली देखिएको समेत नेता खतिवडाले बताए । नेविसंघका विद्यार्थीको माग अनुसार कोरोना रोकथाममा प्रभावकारी काम गर्न र खर्चको हिसाबकिताब पारदर्शी बनाउन नेता खतिवडाले सरकारलाई सुझाव दिएका छन् ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।