काठमाडौं – सबै दलको सहमतिमा सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा जारी गरेदेखि नै समाजवादी पार्टीकी सांसद सरिता गिरीको आपत्ति थियो ।
सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएकाले भारतकै भएको विवादित अभिव्यक्ति दिँदै आएकी थिइन् । अद्यावधिक नक्सा संविधानमा भएको निशान छापमा समावेश गर्न शनिवार संविधान संशोधन गरिएको छ ।
संविधान संशोधन प्रक्रियामा समेत सांसद गिरीको असहमति थियो । उनी पछिल्ला केही दिनयता विवादित अभिव्यक्ति दिँदै आएकी थिइन् । उनले प्रमाण नपुगेको भन्दै संशोधन विधेयक खारेज गर्न प्रस्ताव दर्ता गरेकी थिइन् । तर समाजवादी पार्टीले प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।
उनले तोकिएको समयसम्म प्रस्ताव समेत फिर्ता लिइनन् । शनिवार संसदमा संशोधन प्रक्रिया अगाडि बढ्दा उनले बोल्न खोजिन् । सभामुख अग्नि सापकोटाले छोटो समय दिए ।
सभामुखले समय दिएपनि सांसदहरूले होहल्ला गरे । त्यसपछि सभामुख सापकोटाले सांसद गिरीको प्रस्ताव नियमावली अनुसार नभएकाले अस्वीकृत गरेको घोषणा गरे । सांसद गिरीले बोल्न पाइनन् । त्यसपछि उनी उठेर बाहिर गइन् ।
आक्रोशित मुद्रामा रहेकी सांसद गिरीले आत्महत्या गर्ने विकल्पदेखि नेपाल बंगलादेश हुनेसम्मको धम्की दिइन् । संसद भवनबाट बाहिरिएर सांसद गिरीले सञ्चारकर्मीलाई दिएको प्रक्रियामा आफूसँग २ विकल्प बाँकी रहेको उनले बताइन्, एक आत्महत्या गर्ने र अर्काे लड्ने ।
आफूले आत्महत्या नगरी लड्ने विकल्प रोजेको उनले बताइन् । उनले आफूमाथि लगातार सामाजिक सञ्जाल र घरमा आक्रमण भइरहेकोप्रति समेत आक्रोश पोखिन् ।
नेपालमा महिलालाई हेप्ने काम भइरहेको बताउँदै सांसद गिरीले पाकिस्तानमा महिलालाई हेप्दा बंगलादेश जन्मिएकाले नेपालमा पनि त्यस्तै हुनसक्ने धम्की दिइन् ।
सांसद गिरी बाहिरिएपछि संविधान संशोधन प्रक्रिया सौहार्दरुपमा अगाडि बढेको थियो । संसदमा उपस्थिति सबै २५८ सांसदले नेपाली नक्सा समेटिएको विधेयकको पक्षमा मतदान गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।