काठमाडौं – कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले काठमाडौंसहित मुलुकका विभिन्न शहरमा सरकारविरुद्ध प्रदर्शन चर्काएका छन् ।
सार्वजनिक स्थलमा सभा, समारोह, भीडभाड र प्रदर्शन गर्न नपाउने सरकारको निर्णय अवज्ञा गर्दै ‘नेतृत्वविहीन’ र ‘असंगठित’ समूहले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत मागसहित उनीहरू सडकमा उत्रिएका छन् ।
युवाले शुक्रबार काठमाडौं उपत्यकाका साथै बुटवल, भैरहवा, कपिलवस्तु, गोरखा, तनुहँ, उदयपुर, हेटौंडा, काभ्रे, पाल्पामा प्रदर्शन गरे । राजधानीमा ‘कोभिड–१९ नेपाल इनफ इज इनफ’ समूह बनाएर सरकारविरुद्ध मौन प्रदर्शन आह्वान गरिएको छ । त्यस्तै ‘वेक एन्ड सेभ लाइभ्ज नेपाल’ नामको फेसबुक समूहबाट पनि आन्दोलन आह्वान गरिएको छ ।
फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट आन्दोलनका लागि आह्वान गरिएको छ । शुक्रबार सरकारविरुद्ध काठमाडौंमा ७ र भक्तपुर र ललितपुरमा २र२ स्थानमा प्रदर्शन भए । थानकोटरगुर्जुधारा, कलंकी, माइतीघर, सल्लाघारी, सूर्यविनायक, भूगोलपार्क, वसन्तपुर, पागा दोबाटो (कीर्तिपुर), मूलपानी, झम्सीखेल, पेप्सिकोला र पुलचोकमा प्रदर्शन भएको थियो ।
प्रदर्शन बढ्दै जाँदा कोभिड–१९ संक्रमण फैलिने जोखिम छ । प्रदर्शन नेतृत्वविहीन र असंगठित भएकाले ‘स्थिति नियन्त्रण’ मा लिन कोसँग समन्वय गर्ने भन्नेमा पनि सुरक्षाकर्मीहरूलाई अन्योल थपिएको छ ।
प्रदर्शनमा विपक्षी दलका नेता, कार्यकर्ता पनि परिचय लुकाएर सडकमा आएका छन् । धेरैजसो प्रदर्शनमा विवेकशील नेपाली दलका नेतारकार्यकर्ताहरूको उपस्थिति देखिएको छ । भक्तपुरको प्रदर्शन कांग्रेस, विवेकशील र साझा पार्टी समर्थितको उपस्थिति रहेको प्रहरी स्रोतले बताएको छ । विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले सरकारका बेथितिविरुद्ध पार्टीगत रुपमा नभई स्वस्फूर्त रूपमा भएका आन्दोलन र प्रदर्शनमा आफूहरूको ऐक्यबद्धता रहेको बताएका छन् ।
बुधवार बालुवाटार घेराउ गर्ने क्रममा खुर्सानीटार क्षेत्रमा विवेकशीलका वरिष्ठ नेता उज्ज्वल थापा नै उपस्थित थिए । थापा सहितको भीडलाई पानीको फोहोरा हानेर प्रहरीले तितरबितर पारेको थियो । शुक्रबारको सूर्यविनायक–सल्लाघारीमा भएको प्रदर्शनमा कांग्रेस जिल्ला सभापति दुर्लभ थापा नै सहभागी भएका थिए ।
प्रदर्शनप्रति जनता समाजवादी पार्टी र साझा पार्टीले पनि ऐक्यबद्धता जनाएका छन् । सरकारविरुद्ध चर्किएको गैरराजनीतिक र असंगठित आन्दोलन भनिए पनि यसको ‘जस’ लिन संसद्मा विपक्षी र बाहिर रहेका दलहरूबीच नै प्रतिस्पर्धा देखिएको छ ।
शान्तिपूर्ण आन्दोलन र विरोध प्रदर्शन गर्दा स्थानीय प्रशासनलाई पूर्वजानकारी दिनुपर्ने भए पनि त्यस्तो देखिएको छैन । गृह मन्त्रालयले लकडाउन उल्लंघन र संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भएका आन्दोलन तथा प्रदर्शन नियन्त्रणमा लिन बिहीबार निर्देशन दिएको थियो । तर युवाले मुखुन्डो लगाएर र हातहातमा प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गर्न भ्याए । बुधबार र बिहीबार बालुवाटार क्षेत्रमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरे पनि शुक्रबार प्रदर्शन शान्त रहेको प्रहरीका एक अधिकारीले बताए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ‘हेल्थ प्रोटोकल’ पालना गरेर ५ जनासम्मलाई भेला हुन दिने व्यवस्था भएको उल्लेख गर्दै त्यसभन्दा बाहेकका प्रदर्शन, भीडभाड र विरोधका कार्यक्रम गैरकानुनी हुने बताए । गृह मन्त्रालयबाट पनि गैरकानुनी र कोरोना संक्रमण फैलाउने गरी कुनै पनि प्रदर्शन हुन नदिन स्पष्ट निर्देशन आएको बताए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि गैरकानुनी रूपमा हुने जुनसुकै हूलहुज्जत तथा भीड नियन्त्रणमा लिइने र सोहीअनुसार एक्सनमा जान सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताए । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले विरोध प्रदर्शन गर्नुपूर्व स्थानीय प्रशासनबाट अनुमति लिनुपर्नेमा लकडाउन नै उल्लंघन गरेर असंगठित जमात आन्दोलनमा उत्रिएकामा आफूहरूले गम्भीर रूपमा लिएको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
‘न लकडाउन पालना भयो, न संक्रमण फैलिन सक्ने जोखिमप्रति नै प्रदर्शनकारीहरू संवेदनशील देखिए । यसबाट आम मानिसको स्वास्थ्यमा खेलबाड हुनुका साथै विधि र कानुनको पनि उल्लंघन भएको छ,’ उनले भने ।
बुटवलको पुष्पलाल पार्कमा शुक्रबार बिहान युवा प्लेकार्ड र राष्ट्रिय झन्डा बोकेर भेला भएका थिए । उनीहरू ‘रातो र चन्द्र सूर्य’ गीत बजाएर नाचेका थिए । क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित बनाउन, शंकास्पद बिरामीको पीसीआर परीक्षण गर्न र कोभिड–१९ नियन्त्रणको खर्च विवरण सार्वजनिक गर्न उनीहरूले माग गरे ।
उनीहरूले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र स्वाभिमान सुनिश्चित गर्नुपर्ने आवाज पनि उठाए । उनीहरू जनताले राष्ट्रपति फेर्न चाहेको, प्रधानमन्त्रीले कुरा धेरै काम शून्य गरेको जस्ता नारा लगाउँदै मुख्यमन्त्री कार्यालयतर्फ अगाडि बढेका थिए । तर सुरक्षाकर्मीले जेसिस चोकबाट उनीहरूलाई फर्काएको थियो । ‘यहाँ जनता मरिरहेका छन् । खर्चचाहिँ १० अर्ब भयो भनिएको छ । सहनुको सीमा नाघिसकेकाले विरोधमा उत्रनुको विकल्प भएन,’ प्रदर्शनमा सहभागी शिशिर आचार्यले भने ।
भैरहवामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका नाममा भएको खर्चमाथि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन भएको छ । व्यक्तिगत सम्पर्क र सामाजिक सञ्जालको माध्यमबाट युवा भैरहवाको बुद्धचोकमा भेला भएका थिए । लकडाउनका बेला भारतबाट आएका र क्वारेन्टाइनमा रहेका नागरिकको समेत पीसीआर परीक्षण गर्न नसक्नु सरकारको ठूलो लाचारीपन भएकाले विरोधमा उत्रिएको सहभागीको भनाइ थियो । उनीहरूले क्वारेन्टाइनलाई मापदण्डअनुरूप व्यवस्थित गर्न माग गरे ।
उनीहरूले कोभिड–१९ कोरोना नियन्त्रण तथा रोकथामका कामकारबाही झारा टार्ने खालको रहेको भन्दै आक्रोश पोखे । बुद्धचोकबाट निस्केको र्याली नारायणस्थान, प्रहरी टोल, मिलनचोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेको थियो । त्यहाँ सरकारको क्रियाकलापप्रति व्यंग्य गर्दै सहभागीले केहीबेर ताली बजाएका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाए ।
कपिलवस्तुका युवाले सदरमुकाम तौलिहवामा ‘नो पीसीआर, नुन, तेल, बेसार, कोरोनाको उपचार’ मुख्य नारा लेखेर प्रदर्शन गरे । उनीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गरेका थिए । संक्रमण रोकथाम र परीक्षणमा ढिलासुस्ती भएपछि र भाइरस संक्रमण भएका व्यक्तिको परीक्षणै नगरी घर पठाउन थालिएपछि प्रदर्शनमा उत्रिनुपरेको उनीहरूको भनाइ थियो । प्लेकार्ड र ब्यानर बोकेका उनीहरूलाई स्थानीय बासिन्दाले पनि साथ दिएका थिए । ‘परीक्षणै नगरी संक्रमितलाई घर पठाउँदा त्रास बढेको छ,’ प्रदर्शनमा सहभागी युवा प्रकाश घिमिरेले भने ।
नेपालगञ्जका युवाले सरकारविरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका थिए । प्रदर्शनमा बाँके र बर्दियाका युवा जम्मा भएका थिए । उनीहरूले स्वास्थ्य सामग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर परीक्षण गर्नुपर्ने, एमसीसी सम्झौता खारेज गर्नुपर्नेलगायत माग गरेका थिए । आफूहरू स्वस्फूर्त रूपमा प्रदर्शनमा सहभागी भएको युवा अभियन्ता प्रकाश कुँवरले बताए ।
दाङको घोराहीमा पनि शुक्रवार प्रदर्शन भएको छ । उनीहरूले लकडाउनका बेला कर उठाउन खोजेर व्यवसायीलाई दुस्ख दिन खोजेको भन्दै विरोध गरेका थिए । उनीहरूले लकडाउन अवधिको घरभाडा छुट गराउनुपर्ने र अस्पतालबाट बिरामी डिस्चार्ज गरिनुअघि पीसीआर परीक्षण अनिवार्य गरिनुपर्ने माग गरेका छन् ।
पाल्पाको तानसेनमा युवाले सामाजिक दूरी कायम गर्दै प्रदर्शन गरे । सुशासन, पारदर्शिता, जवाफदेहिता सम्बन्धी नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूले कोभिड–१९ नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको गुनासो गरे । उनीहरूले उपचार गर्ने क्षमता विस्तार गर्नुपर्ने उनीहरूको माग थियो । जिल्ला प्रशासन कार्यालयअगाडि उनीहरूले बिहान १० बजेदेखि २ घण्टासम्म धर्ना दिए ।
काभ्रेको धुलिखेलमा पनि युवाले शुक्रबार प्रदर्शन गरे । सामाजिक सञ्जालमार्फत जानकारी पाएर सरकारलाई सचेत गराउन स्वस्फूर्त रूपमा जम्मा भएको उनीहरूको भनाइ थियो । ‘सामाजिक सञ्जालमा थाहा पाएर आफै आएकी हुँ,’ धुलिखेलको प्रदर्शनमा सहभागी सम्पदा देवजुले भनिन् । धुलिखेलमा करिब २ सय युवा सहभागी थिए । पनौतीमा पनि युवाले प्रदर्शन गरेका थिए । बनेपामा अश्लील नारा लेखिएका केही प्लेकार्ड प्रहरीले नियन्त्रणमा लिएको थियो ।
हेटौंडामा शुक्रबार बिहान र दिउँसो गरी दुई पटक युवाले सरकारविरुद्ध प्रदर्शन गरे । उनीहरूले बुद्धचोकमा प्लेकार्ड, ब्यानरसहित भेला भएका रचनात्मक शैलीमा प्रदर्शन गरेका थिए । सरकार जातीय विभेद अन्त्य गर्न, क्वारेन्टाइन सुधार गर्न र स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा सामग्री उपलब्ध गराउन चुकेको उनीहरूको आरोप छ । उनीहरूले लकडाउनमा व्यवसायीलाई असर परेकाले अनुदान वा राहत उपलब्ध गराउन पनि माग गरे ।
उदयपुर सदरमुकाम गाईघाटमा युवाले राष्ट्रिय गान गाएर प्रदर्शन सुरु गरेका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाले पीपलचोकमा भौतिक दूरी कायम गर्दै प्रदर्शन गरेका हुन् । गोरखा सदरमुकाममा पनि युवाले स्वस्फूर्त भेला भएर शान्तिपूर्ण प्रदर्शन गरेका छन् । सदरमुकामको हरमटारीमा भेला भएका उनीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
तनहुँमा युवाले सदरमुकाम दमौलीस्थित सफासडक र आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी चोकमा विभिन्न नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरूले ‘हन्ड्रेड पर्सेन्ट पीसीआर’, ‘करेक्ट द क्वारेन्टाइन पोलिसी’, ‘सरकार खै ?’, ‘१० अर्बको हिसाब खै ?’, ‘कर केका लागि ?’, ‘जनताले खाने भात छैन, नेता हुँ भन्न लाज छैन ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।