काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को स्वाब नमूना परीक्षणको पीसीआर मेसिन राख्न माग गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँगको भेटमा कांग्रेस नेता खतिवडाले ओखलढुंगामा पीसीआर परीक्षणको मेसिन राखेर ओखलढुंगा, सोलुखुम्बु, खोटाङसहित आसपासका जिल्लाको नमूना परीक्षणको प्रस्ताव गरेका हुन् ।
खतिवडाको प्रस्ताव सकारात्मक रहेको बताए पनि मन्त्री ढकालले तत्काल मेसिन राख्न कठिनाइ रहेको बताएका छन् ।
जवाफमा मन्त्री ढकालले पीसीआर मेसिन राख्नका लागि समस्या नभए पनि त्यसलाई सञ्चालन गर्ने दक्ष कर्मचारीको अभावका विषयमा खतिवडालाई जानकारी गराएका थिए । ‘एउटा पीसीआर मेसिन खरिदमा करीब ६० लाखको आसपासमा खरिद गर्न सकिन्छ,’ मन्त्री ढकालको भनाइ उदृत गर्दै खतिवडाले भने, ‘पीसीआर मेसिन सञ्चालन गर्न कम्तिमा ६ जना दक्ष जनशक्तिको आवश्यकता पर्छ । अहिले नै पीसीआर मेसिन राख्न सम्भव छैन । दीर्घकालमा सोच्न सकिन्छ ।’
स्वास्थ्य मन्त्री ढकालले कांग्रेस नेता खतिवडाको आग्रहपछि एउटा गाडी चौबिसै घण्टा सतर्कमा राखेर ओखलढुंगासहित आसपासका जिल्लाको स्वाब संकलन गरेर काभ्रेको धुलिखेल प्रयोगशालामा परीक्षण गर्ने आश्वासन दिएका छन् ।
स्वास्थ्य मन्त्री ढकालले सरकारले तत्काल मुलुकका विभिन्न २१ स्थानमा पीसीआर मेसिनहरू राख्न गृहकार्य गरिरहेको जानकारी दिए ती प्रयोगशालाहरूबाट गुणस्तरीय र छिटोछरितो सेवा दिइने बताएको खतिवडाले उल्लेख गरे ।
ओखलढुंगासहित पहाडी जिल्लामा कोरोना भाइरसको उच्च जोखिम बढ्न थालेपछि कांग्रेस नेता खतिवडाले शुक्रवार स्वास्थ्यमन्त्री ढकाललाई भेटेर उच्च सर्तकता र स्वास्थ्य सामग्रीका विषयमा चासो राखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।