काठमाडौं – जनताका मागलाई बेवास्ता गर्दै कोरोना रोकथाममा लापरवाही गरिरहेको कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सडक आन्दोलनले धक्का लागेको छ ।
पीसीआर परीक्षण नगरी कोरोना संक्रमितलाई घर पठाउने, आरडीटी जाँच नरोक्ने लगायत सरकारी नीतिविरुद्ध जनता सडकमा आएपछि सरकारले जनताका कुरा सुन्ने मनस्थिति बनाएको छ ।
कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारविरुद्ध जारी सडक प्रदर्शनबारे मुख खोलेका छन् ।
संयोजक पोखरेलले वक्तव्य जारी गर्दै कोरोना उपचारमा खर्च भएको रकमको हिसाबकिताब छिट्टै सार्वजनिक हुने प्रतिबद्धता जनाएका छन् । उनले पीसीआर टेस्टको दायरा बढाउने निर्णय भइसकेको र क्वारेन्टाइन पनि सुधार गर्दै जाने दाबी गरेका छन् ।
विभिन्न माग राखेर भइरहेको आन्दोलनप्रति सरकार र सीसीएमसी निर्देशक समितिको ध्यानाकर्षण भएको भन्दै पोखरेलले भने, ‘आफ्ना मागहरू राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको तथा कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौं ।’
मन्त्री पोखरेलले लकडाउन खुकुलो बनाउने निर्णय भइसकेकाले सामाजिक दूरी कायम राख्नु र कोरोनाको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन् । ‘थौरै पनि असावधानीले संक्रमणले भयावह महामारीको रुप लिनसक्ने खतराप्रति सजग हुन सबैमा आह्वान गर्दछौं,’ मन्त्री पोखरेलले आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।