आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एसईई नभए पनि १० कक्षाको परीक्षा दिनैपर्ने तर्क, परीक्षा बोर्डमै चिन्ता !

एसईई नभए पनि १० कक्षाको परीक्षा दिनैपर्ने तर्क, परीक्षा बोर्डमै चिन्ता !

  • मिडिया डबली
  • शुक्रवार, जेठ ३० २०७७

  • 5.5K
    SHARES

  • एसईई नभए पनि १० कक्षाको परीक्षा दिनैपर्ने तर्क, परीक्षा बोर्डमै चिन्ता !

    काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्यांकन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ ।

    विद्यार्थीको मूल्यांकन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ ।

    सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विद्यालय तहको १० कक्षाका विद्यार्थीको मूल्यांकन सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्यांकनलाई आधार मानिने बताए ।

    विद्यालयले तयार गरेको नतिजा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिमा पठाइने र त्यसले प्रमाणीकरण गरेर राष्ट्रिय परीक्षा बोर्डलाई पठाउनुपर्ने छ । त्यस नतिजालाई बोर्डले प्रमाणपत्र तयार गरी विवरणको व्यवस्था गर्ने जानकारी पनि प्रवक्ता खतिवडाले दिए ।

    विद्यालयलाई जिम्मेवार बनाउन कठिन

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे मन्त्रिपरिषद्को निर्णय पूर्ण रुपमा आएपछि मात्रै बोर्ड बैठकबाट यस विषयमा धारणा बनाउने प्रतिक्रिया दिए । विद्यालयले मनपरी तरिकाले विद्यार्थीको मूल्यांकन गर्नसक्ने र त्यसको प्रमाणीकरण गर्ने जिम्मेवारी मात्रै बोर्डलाई दिने हो भने सकारात्मक सन्देश जान कठिन हुने उनको भनाइ छ ।

    विद्यालयलाई नै विद्यार्थीको अन्तिम मूल्यांकन गर्ने जिम्मेवारी दिने हो भने प्रमाणीकरणका लागि मात्र बोर्डमा आउनुपर्ने अवस्था राख्न नहुने उनको सुझाव छ ।

    ‘धेरै अध्ययन गर्न पाएको छैन तर अन्तिम मूल्यांकन विद्यालयले गर्ने हो भने फेरि प्रमाणीकरणका लागि मात्रै विद्यालयलाई किन दुःख दिनु ?’ उनले भने । प्रमाणीकरण गर्न नपर्ने अवस्थामा विद्यार्थीको मूल्यांकनमा विद्यालय र प्रधानाध्यापकलाई जिम्मेवार बनाउन कठिनाइ हुने उनको तर्क छ । विद्यालयले प्रयोगात्मक विषयको अंक भारमा विद्यार्थीको शतप्रतिशत नै अंक पठाएबाट पनि आफूहरू आजित भएको उनको दुःखेसो छ । सरकारको लिखित निर्णय हेरेपछि मात्रै बोर्डले आफ्नो काम अघि बढाउने उनले बताए ।

    विज्ञले भने सरकारको निर्णय स्वागतयोग्य भन्दै विद्यालयको कार्यविधिमा एकरूपता हुनुपर्नेमा जोड दिएका छन् । शिक्षा अधिकारकर्मी नरेन्द्र डंगोल पुरानो परिपाटीमा एसईई नलिने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । यस विषयमा धेरै वर्षदेखि विज्ञ तथा सरोकारवालाले आजाज उठाए पनि सरकारले भर्खरै यसको सम्बोधन गरेको उनको भनाइ छ । अब १२ कक्षामा मात्रै माध्यमिक तहको अन्तिम परीक्षा बनाउनुपर्ने र १० कक्षाको एसईई हटाउनुपर्ने उनले बताए ।

    विद्यालयले विद्यार्थीको मूल्यांकन गर्दा फरक–फरक आधारमा गरेको अवस्थामा विद्यार्थी तथा अभिभावकले चित्त बुझाउन नसक्ने भएकाले यसमा एकरूपता कायम गर्नुपर्ने आवश्यकता उनले औंल्याए । सरकारले स्पष्ट मापदण्ड बनाएर मात्र विद्यालयलाई विद्यार्थीको मूल्यांकनको जिम्मा दिनुपर्ने उनको भनाइ छ । यसका लागि सरकारले विज्ञलाई जिम्मा दिनुपर्ने उनको सुझाव छ ।

    सरकारले विद्यालयलाई विद्यार्थीको आन्तरिक मूल्यांकन गर्ने जिम्मेवारी पनि कस्तो आधारमा विद्यार्थीको मूल्यांकन गर्ने भन्नेमा विद्यालयका प्रधानाध्यापकले ठोस धारणा बनाउन सकेका छैनन् । राजधानीको जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछाने सरकारले विद्यार्थीको मूल्यांकन गर्ने अधिकार विद्यालयलाई दिए पनि त्यसलाई कसरी टुंगोमा पुर्‍याउने भन्ने कुरामा स्पष्ट हुन कार्यविधि नै कुर्नुपर्ने अवस्था रहेको बताए । सबै परीक्षालाई आधार मान्ने या अन्तिम टेस्ट परीक्षाका आधारमा विद्यार्थीको मूल्यांकन गर्ने भन्नेमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

    शिक्षाकर्मी तथा ज्ञानोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा एसईई परीक्षा नलिने सरकारको निर्णय स्वागतयोग्य भएको उल्लेख गर्दै विद्यालयले आन्तरिक परीक्षाका आधारमा विद्यार्थीको मूल्यांकन गर्न सक्ने बताए । विद्यालयले विद्यार्थीलाई दबाब नहुने गरी केही विषयको परीक्षा लिने र त्यो सम्भव नभए भर्चुअल विधिबाट भए पनि परीक्षा लिएर विद्यार्थीको आन्तरिक मूल्यांकनको टुंगो लगाउनुपर्ने उनको सुझाव छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    ११ र १२ कक्षाको अन्योल कायमै

    सरकारले ११ र १२ कक्षाको स्थगित परीक्षाका बारेमा भने हाल कुनै निर्णय नभएको जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक उच्च अधिकारीका अनुसार ११ कक्षाको परीक्षा विद्यालयलाई नै जिम्मा दिने गरी तयारी भइरहेको छ ।
    १० कक्षाको जिम्मा विद्यालयलाई दिइएको अवस्थामा ११ कक्षाको जिम्मेवारी पनि विद्यालयलाई नै दिनु उपयुक्त हुने सुझावका आधारमा यस खालको तयारी गरिएको हो । १२ कक्षाको परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डले नै लिने तयारी छ । स्थगित परीक्षा कहिले लिने भन्ने निर्णय गरिएको छैन । बन्दाबन्दी पूर्णरूपमा खुलेको कम्तीमा २१ दिनपछि १२ कक्षाको परीक्षा गर्ने तयारी भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ३० २०७७०६:४०:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend