काठमाडौं – सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार आज शुक्रवारदेखि उपत्यका भित्र र बाहिरका जिल्लामा चल्ने गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।
शुक्रवारदेखि काठमाडौं उपत्यका भित्र र अरु जिल्ला भित्र मात्र निजी सवारीसाधन चल्न दिने निर्णय गरे अनुसार जोरबिजोर प्रणाली लागू हुने भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार सरकारले गरेको निर्णय अनुसार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई १ जिल्ला मानी यो व्यवस्था लागू गरिने छ भने बाहिर १ जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने नियम बनाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले शुक्रवारदेखि कार्यान्वयन हुने जोरबिजोर प्रणाली लागू गरिएको बताए ।
निजी सवारीसाधन मात्र चलाउँदा पनि चारपाङ्गे गाडीमा चालकसहित ३ जना र मोटरसाइकल, साइकल र स्कुटरमा चालक मात्र बस्न पाउनेछन् । जोरबिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारीसाधन मात्रै चल्नेछन् । अत्यावश्यकबाहेक निजी सवारीसाधन राति ९ देखि बिहान ५ बजेसम्म भने चलाउन पाइने छैन ।
सरकारले निजी गाडी नम्बर प्लेटको आधारमा चलाउन दिने भनेपनि सार्वजनिक गाडी भने चल्न नदिने निर्णय गरेको छ । जसअनुसार कालो नम्बर प्लेट भएका बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैनन् । यसअघि पास लिएर चलिरहेका निजी गाडी पनि जोरबिजोर प्रणाली अनुसार मात्र चलाउनुपर्ने महाशाखाले उल्लेख गरेको छ ।
अत्यावश्यक कामबाहेक जोरबिजोर प्रणालीलाई उल्लंघन गरेर गाडी चलाउनेलाई भने विभिन्न चेकप्वाईन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए । उनले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनलाई अनिवार्य पास लिएको हुनुपर्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।