काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नगर्ने निर्णय गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा १ महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि सरकारले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।
मन्त्री पोखरेलले १ महिनाभित्रमा सबै काम सम्पन्न गरी नतिजा प्रकाशन गरिने बताएका छन् । विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्यांकनको विवरण पठाउनुपर्नेछ । इकाइले राष्ट्रिय परीक्षा बोर्डमा विद्यालयहरूले पठाएको विवरण पेश गरेपछि कार्यविधि अनुसार नतिजा प्रकाशन गरिने जनाइएको छ ।
विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तह र एसईई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई रहेको छ । कोरोना भाइरस संक्रमणको महामारीको समयमा व्यावहारिकतालाई ध्यान दिँदै परीक्षा बोर्डले आवश्यक कार्यविधि बनाएर परीक्षाफल प्रकाशन गर्ने मन्त्री पोखरेलले बताए ।
देशभर ३ हजारभन्दा बढी विद्यालयहरू क्वारेन्टाइनका रुपमा प्रयोग भएको र संक्रमणको जोखिम आगामी २ महिना बढ्नसक्ने आकलन भइरहेका बेला सरकारले एसईई परीक्षाको सवालमा निर्णय लिएको मन्त्री पोखरेलले बताएका छन् ।
मन्त्री पोखरेलले खरिदार, नेपाल प्रहरी, नेपाली सेना, उच्च शिक्षा अध्ययनको आधार एसईई भएकाले राष्ट्रिय परीक्षा बोर्डबाट नै प्रमाणीकरण भएर नतिजा प्रकाशन हुने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।