काठमाडौं – भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारी हालै जारी गरेको नक्सा सार्वजनिक गरेकोमा लगातार विवादित अभिव्यक्ति दिइरहेकी सांसद सरिता गिरीमाथि कारवाही हुने भएको छ ।
नक्साको विरोधमा सांसद गिरीले बुधबार संसदमा संशोधन प्रस्ताव दर्ता गराएपछि पार्टीले उनीमाथि कारवाही गर्ने मनस्थिति बनाएको हो ।
बुधबार दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीमाथि कारबाही गरिने तत्कालीन समाजवादी पार्टीले स्पष्ट पारेको छ । तर गिरीले आफू आफ्नो अडानमा कायमै रहेको बताउँदै जिद्दी गरेकी छन् । नयाँ नक्सासँगै नक्सा संशोधन खारेजको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी सांसद गिरीलाई पार्टीले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले भने, ‘जनता समाजवादी पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो । यसका नेता–कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन् । जो–कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन् । कसैलाई कुनै भ्रम नहोस् ।’
सांसद गिरी तत्कालीन संघीय समाजवादी पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधिसभामा सांसद बनेकी हुन् । पार्टीले चाहेको अवस्थामा उनलाई सांसद् पदबाट फिर्ता बोलाउन सक्ने प्रावधान रहेको छ । नक्सासम्बन्धी संशोधन सरकारले ल्याएसँगै गिरीले संसदमा अनावश्यक रुपमा पार्टीलाई बदनाम गराएको भन्दै कारबाही गर्ने जनाइएको छ ।
बुधवार समाजवादी संसदीय दलको प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति निकालेर गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् । तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समेत गिरीले आफूसँग कुनै सल्लाह नगरेकाले संशोधन फिर्ता लिनुपर्ने बताए ।
नक्सा प्रकरणमा सुरूमै गिरीले विरोध जनाएपछि एकीकरण गरेको समाजवादी र राजपा आफूहरु नक्सा सहितको संशोधनको पक्षमा रहेको कुरा संसदमा बताएका थिए । समाजवादी र राजपा नेताहरुका अनुसार गिरीले संसदमा बोलेको कुराहरु उनको नितान्त व्यक्तिगत भएको भन्दै पार्टीभित्र उनलाई कारबाही गर्ने मत समेत बलियो भएर आएको छ । अध्यक्ष यादवले पार्टी एकीकरण भइसकेकाले सबै शीर्ष नेताहरुको बीचमा यसबारे सल्लाह र छलफल गरेर निष्कर्षसम्म पुगिने बताएका छन् ।
पार्टीका नेता नवराज सुवेदीले सरिता गिरीसामु २ मात्र विकल्प रहेको बताएका छन् । ‘संशोधन प्रस्ताव फिर्ता गरी नेपालको पूर्ण नक्सा सहितको निशान छाप संशोधन पक्षमा दृढतापूर्वक उभिने वा कारबाही भोग्न (पार्टी छाड्न) तयार हुने हो,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।