काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई चीनले पर्याप्त स्वास्थ्य उपकरण र औषधि उपलब्ध नगराउँदा कोरोना भाइरस संक्रमणको परीक्षणमा ढिलाइ भइरहेको छ ।
सरकारले सेनामार्फत खरिद गर्न खोजेका सामग्री आपूर्तिमा समेत चीनले ढिलाइ गरिरहेको छ । तर चीनतिर ढल्किने गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा चिनियाँ टोलीको कोसेली स्वरुप स्वास्थ्य सामग्री पुगेको छ ।
चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई कोरोना भाइरस संक्रमणविरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ सामग्री प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार एक कार्यक्रमका बिच स्वास्थ्य सामाग्री जिन्सी शाखालाई प्रदान गर्दै प्राप्त स्वास्थ सामग्री आवश्यकता अनुसार प्रयोग र वितरण गर्न निर्देशन दिएकी छन् ।
भरतपुर महानगरपालिका र चीनको गुर्मु सिटीबीच भगिनी सम्बन्ध कायम भएसँगै २ नगरबीच विभिन्न विषयमा सहयोग आदानप्रदान भइरहेको बताउँदै मेयर दाहालले विपदको अवसरमा यति ठूलो संख्यामा स्वास्थ सामग्री प्रदान गरेकोमा गुर्मु सिटीका प्रमुख तथा गुर्मुवासी चिनियाँ जनतालाई धन्यवाद व्यक्त गरेकी छन् ।
गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई ११ लाख रुपैयाँ बराबरको सर्जिकल मास्क १० हजार थान, एन९५ मास्क ९६० थान, पीपीई १२० थान र थर्मल गन १२० थान लगायतका सामग्री भरतपुर महानगरपालिकालाई प्रदान गरेको छ ।
सोमवार भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डललाई गुर्मु सिटीका प्रतिनिधि च्याङ्ग जिउ लिई, छिङ बिङ्ग, ह्याङ्ग सिङ्ग हान लगायतका प्रतिनिधि मण्डलले नेपाल–चीन सीमा तातोपानीको मितेरी पुलमा सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।