काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले प्रतिनिधि सभाकी सांसद सरिता गिरीको अभिव्यक्तिलाई लिएर गम्भीर आपत्ति जनाएको छ ।
तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले बुधवार प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रिय अखण्डता र नेपालविरुद्ध अभिव्यक्ति दिने सांसद गिरीलाई पदमुक्त गर्न माग गरेका हुन् ।
‘राष्ट्रियताको विषयमा ३ करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा गिरीलाई संसद पदबाट निलम्बन गर्नेदेखि हदैसम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असह्य भएको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अराष्ट्रिय तत्वहरूलाई कारबाहीको लागि जोडदार माग गर्दछ ।’
‘हालसालै एक टेलिभिजन अन्तर्वार्तामा संघीय सांसद सरिता गिरीले आफ्नो पदीय मर्यादा विपरीत नेपालका भूमिहरू लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर दिएको अभिव्यक्तिप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
‘अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरी निशान छाप सच्याउनका लागि आवश्यक संविधान संशोधन गर्नुपर्ने भएको हुनाले त्यसका लागि नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बसी संविधान संशोधनको पक्षमा मतदान गर्ने संस्थागत निर्णय गरेको यहाँहरू सम्पूर्णमा सर्वबिदितै छ,’ अध्यक्ष बस्नेतले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘यसरी संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा निज सांसदले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकताविरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ ।’
‘इतिहासदेखि पुर्खाहरूले बचाएको एक ईञ्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट गर्न चाहन्छ,’ तरुण दलको विज्ञप्तिमा उल्लेख छ, ‘सांसद सरिता गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । नेपाल तरुण दलले यस्ता अभिव्यक्ति सच्याउन जोडदार माग गर्दछ ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।