आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनामा सरकारको अनौठो नीति : चेकजाँच नै नगरी ‘डिस्चार्ज’ गर्दै निको भएको घोषणा

कोरोनामा सरकारको अनौठो नीति : चेकजाँच नै नगरी ‘डिस्चार्ज’ गर्दै निको भएको घोषणा

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 5.8K
    SHARES

  • कोरोनामा सरकारको अनौठो नीति : चेकजाँच नै नगरी ‘डिस्चार्ज’ गर्दै निको भएको घोषणा

    कपिलवस्तु – कोरोना हटस्पट बनेको जिल्लामा संक्रमितलाई पीसीआर परीक्षण विनै धमाधम घर पठाउन थालिएको छ ।

    कपिलवस्तु–८ स्थित विश्वमैत्री प्राविका ८ र कचरिहवा मदरसाका ३ जनालाई पीसीआर परीक्षण विनै घर पठाइएको हो । संक्रमितहरू दोहनी गाउँका बासिन्दा हुन् ।

    संक्रमण पुष्टि भएयता उनीहरूको पुनः पीसीआर परीक्षण गरिएको छैन ।

    १४ दिन आइसोलेसनमा बसिसकेपछि थप लक्षण र बिरामी नभएमा घर पठाउने सरकारको नयाँ नीतिअनुसार उनीहरूलाई घर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए ।

    ‘हामीले पठाउन खोजेका थिएनौं,’ उनले भने, ‘सरकारको नीति मान्नैपर्‍यो ।’ उनका अनुसार अहिलेको निर्देशिका जारी हुनुपूर्व संक्रमितको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको थियो ।

    दुवै रिपोर्ट नेगेटिभ आएपछि जिल्लाका ४२ जना यसअघि संक्रमणमुक्त भएका थिए । गत जेठ २४ देखि जिल्लामा नयाँ निर्देशिकाअनुसार परीक्षण विनै घर पठाउन थालिएको छ ।

    यशोधरा गाउँपालिकाका ३८ जना संक्रमितलाई पनि दोस्रो रिपोर्ट नआउँदै घर पठाइएको छ । गाउँपालिकाको अनिरुद्र पब्लिक माविको आइसोलेसनमा रहेका ३८ जनाको स्वाब संकलन गरी तेस्रोपटक पीसीआरका लागि दाङ पठाइएको थियो । उनीहरूको जेठ २१ गते स्वाब पठाइएको हो । त्यस्तै त्यही क्वारेन्टाइनमा रहेका २९ जनालाई संक्रमणको कुनै लक्षण नदेखिएको भन्दै घर पठाइएको छ ।

    ‘गाउँपालिकाले संक्रमितको पीसीआर परीक्षणपछि मात्र घर पठाउने योजना बनाएको थियो,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले भने, ‘जिल्लाबाट डाक्टर आएर हेरेर पठाइदिनुभयो,’ उनले भने । नयाँ निर्देशिकाअनुसार उनीहरूमा लक्षण नदेखिएकाले आफूले डिस्चार्ज गरेको जिल्ला अस्पतालका डा. किशोर बन्जाडेले बताए । ‘उनीहरूलाई एक सातासम्म घरमै आइसोलेसनमा बस्न भनेका छौं,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    यशोधरा–६ को क्वारेन्टाइनमा रहेका २४ जना, वसन्तपुरको क्वारेन्टाइनमा रहेका १३ र बैदोली मदरसा क्वारेन्टाइनमा रहेका १२ जनालाई मंगलबार घर पठाइएको छ । महाराजगञ्ज नगरपालिकामा २ दिनमा ५० जना संक्रमितलाई घर पठाइएको छ ।

    उनीहरू सिसवा, कुशहवा र हर्दोना गाउँका थिए । आइसोलेसनमा बसेका उनीहरूको दोस्रो र तेस्रो परीक्षण नगरी घर पठाइएको नगरपालिकाका स्वास्थ्य प्रमुख राधेश्याम जयसवालले बताए । ‘बाहिरी लक्षण देखिएन,’ उनले भने, ‘सरकारको नीतिले पनि छाड्ने भन्यो, त्यही भएर छाड्यौं ।’ त्यस्तै ३ दिनयता क्वारेन्टाइनमा रहेका २०२ जनालाई घर पठाइएको छ । उनीहरूको पनि परीक्षण गरिएन । मायादेवी गाउँपालिकाका ११ जना संक्रमितलाई घर पठाइएको छ । उनीहरूमा दोस्रो र तेस्रो परीक्षण गरिएन ।

    सरकारले जारी गरेको पछिल्लो निर्देशिकाको चारैतिर विरोध भइरहेको छ । स्वास्थ्यकर्मीले समेत चिन्ता प्रकट गरेका छन् । यसले संक्रमण समुदायमा जाने डरत्रास बढाएको छ । यो नीतिको चौतर्फी विरोध हुँदा पनि सरकार सचेत नभई महामारी निम्त्याउन उद्यत देखिएको अधिकारकर्मी आरडी ठाकुरले बताए ।

    ‘हामी त रेड जोनमा छौं,’ यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले भने, ‘सरकारले हाम्रो जीवनसँग खेलबाड गरिरहेको छ ।’ अब समुदायमा संक्रमण फैलिए यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताए ।

    परीक्षण नै नगरी संक्रमित छाडिनु राम्रो नभएको महाराजगन्ज नगरपालिका प्रमुख अब्दुलकलाम खाँले बताए । ‘यसले समुदायप्रति सरकारको जिम्मेवारी दिखिएन,’ उनले भने, ‘सरकार चुक्दै गएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०७:१८:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend