आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीलाई अर्काे संकट : वामदेव खुमलटारतिर ढल्किएपछि प्रचण्ड–नेपाल गुट बलियो !

केपी ओलीलाई अर्काे संकट : वामदेव खुमलटारतिर ढल्किएपछि प्रचण्ड–नेपाल गुट बलियो !

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 7.4K
    SHARES

  • केपी ओलीलाई अर्काे संकट : वामदेव खुमलटारतिर ढल्किएपछि प्रचण्ड–नेपाल गुट बलियो !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोका कारण अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको सम्झौता सदनबाट अनुमोदनको विषय थप अन्यौलमा परेको छ ।

    नेकपाले एमसीसी अध्ययन गर्न बनाएको कार्यदलको प्रतिवेदन, सचिवालयदेखि स्थायी समिति र केन्द्रीय समितिसम्ममा सम्झौता परिमार्जन विना पारित गर्न नहुने पक्षमा मत देखिएको छ ।

    सभामुख अग्नि सापकोटाले पनि कार्यव्यवस्था परामर्श समितिमा सहमतिपछि मात्र यसलाई कार्यसूचीमा चढाउने भनी अडान लिएका छन् । यसकारण एमसीसी सम्झौता गोलचक्करमा परेको छ ।

    नेकपाले मंगलवार सचिवालय बैठक राखेर यस विषयमा निर्णयक छलफल गर्ने भनेको थियो । तर अन्तिम समयमा आएर बैठक स्थगन भएको छ । बालुवाटारले प्रधानमन्त्रीको दैनिक कार्यसूचीमा सचिवालय नरहेको भनी सञ्चारमाध्यममा खबर गरेपछि बैठक स्थगनको सूचना नेताहरूले पाएका थिए ।

    एक सचिवालय सदस्यका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठक स्थगनको सूचना सञ्चारमाध्यमबाट थाहा पाएका हुन् । महासचिव विष्णु पौडेल मंगलवार बिहानै खुमलटार पुगेर प्रचण्डलाई भेट गरे पनि बैठक स्थगनबारे कुराकानी भएको थिएन ।

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी बैठक स्थगनका विषयमा जिज्ञासा राखेको ती सचिवालय सदस्यले बताए । त्यसपछि प्रचण्डले सचिवालय सदस्यहरूलाई दिएको जानकारी उद्धृत गर्दै ती नेताले भने, ‘मलाई पनि बैठक स्थगित गर्ने कुरामा केही जानकारी दिइएन । प्रधानमन्त्रीलाई सोधें, उहाँले तपाईंसँग छलफल गर्छु भन्दाभन्दै त्यस्तै–त्यस्तै भयो । बैठक बस्न सक्ने स्थिति देखिनँ मैले आज । कामले म नभ्याउने भए भनेर जवाफ दिनुभयो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

    बैठक नबसेपछि खुमलटारमा प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच छलफल भएको थियो । प्रचण्डले छलफलमा पनि प्रधानमन्त्री बैठक छल्ने दिशामै जान खोजेको ब्रिफिङ गरेका थिए ।

    ओली र प्रचण्डबीच आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलपछि मंगलबारका लागि सचिवालय बैठक तय भएको थियो । ओलीले त्यही दिन उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएर एमसीसीमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । गौतमले त्यसबारे खुमलटारको छलफलमा जानकारी दिएका थिए । उनले प्रधानमन्त्री ओलीले आफूसँग गरेको आग्रह अन्य सचिवालय सदस्यलाई पनि सुनाएका थिए ।

    ‘उहाँले मलाई आईतबार बोलाउनुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न नहुने र सहयोगको वातावरण निर्माणका लागि पनि एमसीसी सम्झौता अनुमोदन गराउनुपर्ने भएकाले सहयोग गर्नुहोस् भनेर आग्रह गर्नुभएको थियो,’ गौतमको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईंलाई खास अप्ठ्यारो परेको बेला सहयोग गरेकै हो । तर अब एमसीसी जस्ताको तस्तै पारित गर्नेमा भने म सहयोग गर्न सक्दिनँ । कार्यदलको रिपोर्टका आधारमा छलफल गरी परिमार्जन गरेर जाऔं भनेर म फर्किएँ ।’

    गौतमलाई फकाउने र सचिवालयमा आफू अनुकूल निर्णयको वातावरण बनाउन गरेको प्रयास सफल नभएपछि ओली बैठक टार्न लागेको उनीइतर नेताको ठम्याइ छ । गौतमले साथ नदिएपछि प्रधानमन्त्रीले २ अध्यक्षबीच पहिले छलफल गरी सहमति खोज्नुपर्ने, त्यसपछि मात्र सचिवालयमा निर्णयमा लैजानुपर्ने प्रस्ताव प्रचण्डसँग गरेका थिए । प्रधानमन्त्रीको यही सन्देश लिएर सोमबार संसदीय दलका उपनेता सुवास नेम्वाङ खुमलटार पुगेका थिए । प्रचण्डले भने अब सचिवालयमै छलफल हुने र त्यही निर्णय हुने बताए ।

    प्रधानमन्त्री ओलीले आफू अनुकूल निर्णय नहुने ठानेपछि मंगलबारको बैठक एकतर्फी स्थगन गरेको आरोप प्रचण्ड–नेपालले लगाएका छन् । महासचिव पौडेलले प्रधानमन्त्रीको व्यस्तता र सदनमा मन्त्रीहरूको बजेटमाथिको जवाफलगायत कार्यसूचीका कारण मंगलबारको बैठक बस्न नसकेको जानकारी दिए ।

    बैठक अब कहिले भन्ने टुंगो छैन । त्यसका लागि फेरि ओलीमाथि दबाब बढाउनुपर्ने निष्कर्ष दाहाल निवासमा छलफलमा रहेका नेताले निकालेका छन् ।

    सचिवालयमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव पौडेल एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा छन् । अन्य नेता सम्झौता परिमार्जन नभई अनुमोदन गर्न नहुने अडानमा छन् ।

    ओली मंगलवार निसान सच्याउनका लागि अघि बढाइएको संविधान संशोधन विधेयकबारे सैद्धान्तिक छलफल हुँदा सदनमा पुगेका थिए । उनले साँझ ६ बजेपछि चैत ११ यता जारी लकडाउन खुकुलो बनाउने मोडालिटीका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएका थिए । उनले उक्त बैठक पनि बुधबार दिउँसो २ बजेका लागि सारेका थिए ।

    ‘सचिवालय बैठकका विषयमा अरूले के कारण भन्छन्, थाहा भएन । प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बुधबार सार्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । ओलीले बुधवार बजेटमाथि उठेका प्रश्नको जवाफ सदनमा दिने, त्यसपछि मन्त्रिपरिषद् बैठक राखेका कारण दुई अध्यक्षबीच सचिवालय बैठकको नयाँ मिति बुधवार पनि तय हुने सम्भावना कम देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०६:४६:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend