काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ‘फेल’ भएको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले देशभर खबरदारी गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा सोमवारको बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकारको देखाएको अकर्मण्यताविरुद्ध उत्रिन पार्टीका सबै पंक्तिलाई निर्देशन दिएको छ ।
कांग्रेसले ओली सरकारविरुद्ध केन्द्रदेखि सबै जिल्ला कार्यसमितिले पनि ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । केन्द्रीय सदस्य रमेश लेखकले बैठकले सरकारको कमजोरी औल्याउँदै आगामी पहलकदमीबारे सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको बताए ।
पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउने भएको छ । प्रत्येक जिल्लामा पार्टीका सभापतिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन बुझाउने तय भएको लेखकले बताएका छन् ।
बैठकमा कोरोना महामारीमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमितताको विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग उठेको थियो । मंगलवारदेखि संसदमा समेत अनियमितताको विषयलाई जोडदाररुपमा उठाउने तयारीमा कांग्रेस रहेको छ । कोरोना रोकथामको विषयमा संसदमा सरकारसँग सवाल–जवाफमा उत्रिने नीति अख्तियार गरिने केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् ।
कोरोना महामारीका कारण सडक संघर्ष सम्भव नभएकाले संसदबाट सरकारलाई जवाफदेही बनाउन परिस्थिति हेरेर संसद अवरोधसम्म जाने विषयका बैठकमा छलफल भएको सांसद संग्रौलाले बताइन् । बैठकमा धारणा राखेका करीब २ दर्जन केन्द्रीय सदस्यले संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।