काठमाडौं – विदेशबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिको संख्या धेरै भएका बेला पीसीआर परीक्षणको माग भइरहेको छ । तर सरकारले पर्याप्त पीसीआर जाँच गर्न छाडेर आरडीटीमा अल्झिँदा महामारी फैलिने खतरा बढेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने असार १५ पछि प्रत्येक दिन १० हजारको संख्यामा पीसीसार परीक्षण रिपोर्ट दिने बताएका छन् ।
सांसदको चौतर्फी आलोचनापछि सोमवार प्रतिनिधि सभामा जवाफ दिँदै स्वास्थ्य मन्त्री ढकालले असार १५ पछि पीसीआरको परीक्षण दायरा बढाएर प्रतिदिन १० हजार जाँच हुने दाबी गरे ।
‘दिनदिनै सीमा कटेर आउने व्यक्तिको संख्या धेरै छ । हामीले असार १५ गतेसम्म सातै प्रदेशमा ठूला मेसिन जडान गरी प्रत्येक दिन १० हजारको रिपोर्ट दिने गरी तयारीमा लागेका छौं,’ उनले भने । सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेपनि कोरोना परीक्षणका लागि पर्याप्त स्रोतसाधन तयार नगरेको प्रस्ट भएको छ ।
मन्त्री ढकालले परीक्षणको सवालमा नेपाल एसियामा राम्रो स्थानमा रहेको दाबी गरेका छन् । बैठकमा सांसदहरूले कोरोना परीक्षण कम भएको, आरडीटीको गुणस्तर लगायतबारे प्रश्न गरेका थिए ।
मन्त्री ढकालले आरडीटी परीक्षणलाई संक्रमण पत्ता लगाउन नभई स्क्रिनिङको लागि मात्र प्रयोग गरेको बताएका छन् । तर क्वारेन्टाइनमा रहँदा आरडीटी नेगेटिभ आएर घर गएका व्यक्तिको मृत्यु भइरहेको र मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।