काठमाडौं – अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो झड्का लाग्ने घोषणा गरेका छन् ।
आफू निकट अनलाइन एभरेस्ट दैनिकलाई अन्तर्वार्ता दिँदै प्रचण्डले संसदमा दर्ता भएको एमसीसी सम्झौता यथास्थितिमा पारित गर्न नसकिने स्पष्ट पारेका छन् ।
ओली सरकारले एमसीसी सम्झौतालाई जबरजस्ती पारित गर्न खोजेमा नेकपाले त्यसलाई ‘फेल’ गरिदिने संकेत गरेका छन् । ‘सरकारले पार्टीको निर्देशन विपरीत एमसीसी पारित गराउन सक्दैन । तर पार्टी निर्णय विपरीत एमसीसीलाई अगाडि बढाएमा संशोधन प्रस्ताव दर्ता गरिनेछ,’ अध्यक्ष प्रचण्डलाई उदृत गर्दै एभरेस्ट दैनिकले लेखेको छ ।
प्रचण्ड पक्षले संशोधन प्रस्ताव दर्ता गराएको अवस्थामा ओली सरकारको प्रस्ताव ‘फेल’ हुनेछ । नेकपाभित्र अधिकांश नेता एमसीसीको विरोधमा रहेका छन् ।
अन्तर्वार्तामा प्रचण्डले सम्झौताका कतियपय बुँदा राष्ट्रिय हित विपरीत रहेकाले संशोधन आवश्यक भएको बताएका छन् । सरकारले एमसीसी सम्झौता पारित गर्न प्रयास गरिरहेको सन्दर्भमा अध्यक्ष प्रचण्डले सम्झौताका कतिपय बुँदा राष्ट्रिय हित विपरीत भएकाले संशोधन आवश्यक भएको बताए ।
‘एमसीसीबारे हाम्रो अडान कायमै छ, हामीले सहयोग नलिन भनेका छैनौं तर नेपालको हित नहुने र राष्ट्रिय सार्वभौमसत्ता तथा अखण्डतासँग जोडिएका कतिपय प्रावधान संशोधन गर्नुपर्छ,’ उनले भने ।
ओली सरकारले एमसीसी सम्झौतालाई अगाडि बढाउन प्रयास गरेपछि सत्तारुढ दल नेकपाभित्र त्यसको विरोध भइरहेको छ । पार्टीभित्र विरोध भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । समितिका संयोजक खनाल र सदस्य भीम रावलले यथास्थितिमा एमसीसी सम्झौता नेपालको हितमा नरहेको निष्कर्ष निकाल्दै संशोधन नगरी पारित नगर्न सुझाव दिएको छ । समितिका अर्का सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने फरक मत राख्दै एमसीसीको पक्षमा देखिएका छन् ।
सरकारले बजेटमा समेत एमसीसीसँग जोडिएका प्रसारण लाइनका योजना समावेश गरेपछि व्यवस्थापिका संसदमा समेत विरोध भएको छ । सरकारले अर्कै ढोकाबाट घुसाएर एमसीसी पारित गर्न खोजेको भन्दै आलोचना भएको छ । एमसीसीबारे छलफल गर्न नेकपाको सचिवालय बैठक समेत बोलाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।