काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नवगठित जनता समाजवादी पार्टी (जसपा) को चौथो वरीयतामा पुगेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनौठो तरिकाको सहानुभूति दिएका छन् ।
अध्यक्ष थापाले डा. बाबुराम भट्टराईको वरीयता र राजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने बताएका छन् ।
‘वरीयताको विषयमा बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें,’ सोमवार बिहान ट्विटमार्फत उनले लेखेका छन्, ‘बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ र उहाँको वरियता/राजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन ।’
निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता गर्नुअघि डा. बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राईभन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा राखिएको छ ।
चौथो वरीयतामा राखेपछि सामाजिक सञ्जालमा भट्टराई र जसपाको टिकाटिप्पणी भइरहेको छ । पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् ।
कार्यसमिति र केन्द्रीय नेतृत्वको वरीयतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो ।
अध्यक्ष थापाले लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उनको स्थान कायम भइसकेको धारणा राखेका छन् । थापाले एकता गर्दा नाम तल राख्न मानेर बरु भट्टराईको उचाइ अझै बढेको टिप्पणी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।