काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हप्तायता स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, मन्त्रालयका प्रवक्ता लगायत आधा दर्जनभन्दा बढी विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेको छ ।
सचिव यादव कोइराला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् । उनको ठाउँमा सचिव लक्ष्मण अर्याललाई ल्याइएको छ ।
विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई छाउनस्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा गत शुक्रवारदेखि काजमा खटाइएको छ । उनको ठाउँमा मन्त्रालयका डा. दीपेन्द्ररमण सिंहलाई पठाइएको छ ।
व्यवस्थापन महाशाखाका भोगेन्द डोटेललाई हटाएर डा. रमेश खरेललाई ल्यायो । प्रवक्ता डा. विकास देवकोटालाई सरुवा गरेर डा. जागेश्वर गौतमलाई ल्याइयो । परोपकार तथा प्रसूति गृहमा डा. संगीता कौशललाई सरुवा गरियो ।
मन्त्रालयका एक अधिकारी कोरोना भाइरसको संक्रमण बढ्दै गएको बेला नेतृत्वले कमजोरी ढाकछोप गर्न कर्मचारीको सरुवा गरेको बताउँछन् । उनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालय नै अस्वस्थ भएको छ । यस्तो अवस्थामा संक्रमितको अन्त्येष्टि पनि कोरोना भाइरस पोजेटिभ भएको पुष्टि हुनु अस्वाभाविक होइन ।’
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की कर्मचारी फेरबदलले आश गर्न नसकिने बताउँछन् । ‘प्रधानमन्त्रीकै सामु स्वास्थ्यसचिव चिकित्सकहरूबाट बनाउँदा कोरोनाविरुद्ध लड्न सहज हुने सुझाव दिएको हुँ, सुनुवाइ नै भएन,’ उनले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘उच्च मनोबलका साथ कोरोना भाइरसविरुद्ध जुध्नुपर्ने बेला सरुवा गर्दैमा ठिक्क छ ।’
अहिले मुलुकमा १ लाख ७० हजार ७३२ जना अव्यववस्थित क्वारेन्टाइनमा बसेका छन् । संक्रमित उपचारको आसमा अस्पतालको आइसोलेसनमा छन् । हालसम्म कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ४६७ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।