काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विमति हुँदाहुँदै पनि अमेरिकी सहयोगको एमसीसी सम्झौतालाई संसदबाट पारित गर्न मरिहत्ते गरिरहेका बेला उनको योजना चक्नाचुर भएको छ ।
नेकपा वरिष्ठ नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी सम्झौता पारित नहुने स्पष्ट पारेका छन् । यसअघि नेकपा केन्द्रीय कमिटीले नेता खनालको नेतृत्वमा गठन गरेको अध्ययन समितिले समेत एमसीसी पारित गर्न नसकिने प्रतिवेदन बुझाएको थियो ।
प्रधानमन्त्री ओलीले भने अझै पनि एमसीसी पारित गर्नुपर्ने अडान लिँदै आएका छन् । एमसीसी पारित गर्ने मनसाय अनुसार नै आगामी आर्थिक वर्षको बजेटमा समेत योजना समावेश गरिएको छ । तर नेता खनालले परिमार्जन नभए एमसीसी पारित हुनै नसक्ने चट्टानी अडान लिएका छन् ।
‘अब (सोमबार) बस्ने सचिवालय बैठकको एजेन्डा एमसीसी नै हुन्छ होला । त्यो बैठकले एमसीसीबारे सम्भवतः अन्तिम निर्णय लिन्छ,’ उनले भने, ‘जसले जे भने पनि एमसीसी अहिलेकै अवस्थामा पारित हुन हामी दिँदैनौं ।’ यसरी एमसीसीका कारण नेकपाभित्र चर्काे विवाद उत्पन्न हुने देखिएको छ ।
नेकपाले सोमबार दिँउसो ४ बजे सचिवालय बैठक बोलाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।