काठमाडौं – भारतको पक्षमा देखिने खालका अभिव्यक्ति दिएर विवादमा पर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी सांसद सरिता गिरी फेरि विवादमा आएकी छन् ।
आईतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सरिता गिरीले नेपालको दक्षिणतिर भारतीय सीमा नजिक नेपाली सेनालाई राख्ने निर्णयप्रति आपत्ति जनाइन् ।
भारतले विभिन्न ठाउँमा सीमा अतिक्रमण गरेको बेला जनस्तरबाट सीमा सुरक्षाको जिम्मा सेनालाई दिनुपर्ने माग उठ्ने गरेको छ । तर सांसद गिरीले भारतीय सीमा नजिक सेना पठाउने सरकारी निर्णयमा आपत्ति जनाएकी छन् ।
सरकारले बाराको पथलैयामा नेपाली सेनाको ठूलो ब्यारेक राखेकोमा सांसद गिरीले आपत्ति जनाएकी छन् । उनले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा नेपाली सेनाको एयर बेस बनाउन लागेको भन्दै विरोध जनाइन् ।
राष्ट्रिय सुरक्षाको विषयमा कुरा गर्न लागेको बताउँदै सांसद गिरीले सेनालाई बंकरबाट निकालेर कहाँ लैजान लागेको भन्दै प्रश्न गरिन् । ‘सेनालाई दक्षिणी सीमामा लैजाने कि उत्तरीमा सीमामा ?’ उनले प्रश्न गरिन्, ‘चीनले ३५ हेक्टर जमिन कब्जा गरेर राखेकाले उत्तरमा सेनाको पोष्ट बनाइन्छ ?’
निजगढ विमानस्थल बनाउन लागेको भनेर प्रचार गरेपनि त्यसमा सत्यता नभएको र नेपाली सेनाको एयर बेस बनाउन लागिएको उनले दाबी गरिन् । ‘बजेटमा सेनाको लागि एयरबेस बनाउने भन्ने कुरा आएको छ । कहाँ बनाउने त्यसमा मौन छ तर मलाई थाहा छ, २–३ वर्षदेखि निजगढमा एयर बेस बनाउने तयारी गरिएको छ । मैले बारम्बार भनिरहेको छु निजगढ विमानस्थलको बारेमा जे प्रचार गरिएको छ त्यसमा सत्यता छैन । निजगढमा सेनाको ब्यारेक बनाउने तयारी भइरहेको छ । फास्ट ट्रयाक सेनालाई दिइयो र पथलैयामा सेनाको ठूलो क्याम्प बनाइएको छ । जहाँ ३ तिरबाट सडक आएको छ त्यहाँ सेनाको क्याम्प बनाउन किन आवश्यक पर्यो ?’
सेनाबारे सांसद गिरीले थप कुरा बोल्दै गर्दा समय सकिएका कारण सभामुखले माइक काटिदिए । सभामुखबाट माइक काटिएपछि उनले थप बोल्न पाइनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।