काठमाडौं – नतिजाको विश्वसनीयतामा प्रश्न उठ्दा–उठ्दै पनि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ‘प्यारो’ बनिरहेको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विरुद्ध संसद बैठकमा घमासान भएको छ ।
आईतबार बसेको सुदूरपश्चिम प्रदेशसभा बैठकमा सांसदहरूले आरडीटीको विश्वसनीयता नभएको तत्काल रोक्न माग गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले आरडीटीको भरमा घर पठाइएकाहरूबाट कोरोना भाइरस संक्रमण फैलिन सक्ने बताए । कोरोनाको सही पहिचानका लागि आरटी–पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने बताउँदै उनले सुदूरपश्चिमका प्रयोगशालाहरूको क्षमता बढाइनुपर्ने माग गरेका छन् ।
कैलालीमा पहिलो कोरोना संक्रमित पत्ता लागेको झण्डै ३ महिना पुग्दासमेत संक्रमण फैलन नदिन प्रदेश सरकारले पर्याप्त तयारी नगरेको भन्दै सोराडीले प्रदेश सरकारको आलोचना गरेका छन् ।
बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको प्रदेश सरकारले ३ महिनासम्म त्यसमा कुनै काम नगरेकोमा उनले आक्रोश पोखेका छन् ।
नेकपाकै सांसद पूर्णा जोशीले आरडीटी परीक्षणको औचित्य नभएको भन्दै बन्द गर्न माग गरेकी छन् । उनले डोटीको क्वारेन्टाइनमा मृत्यु भएका युवाको स्वाब संकलन मुत्यु हुनुअघि नै नगरिएकोमा आक्रोश पोखिन् । कोरोना रोकथाममा सरकार उदासिन भएकोमा नेकपाकै सांसद आक्रोशित बनेका छन् ।
क्वारेन्टाइनहरू व्यवस्थित नभएको र मृत्युघरमा परिणत भइरहेको भन्दै सांसद जोशीले प्रयोगशालाहरू बढाउने र भएका प्रयोगशालाको क्षमता बढाउनेतर्फ प्रदेश सरकार लाग्नुपर्ने सुझाव दिइन् ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले युरोपियन देशहरूले आरडीटी किटको प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुःखद भएको बताए । ‘यस्तो परीक्षणले संक्रमणको दर भयावह हुन सक्छ, यसलाई तत्काल बन्द गर्नुपर्छ,’ उनले भने ।
क्वारेन्टाइनमा ७ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणको महामारीसँगै सुदूरपश्चिममा बनेका क्वारेन्टाइनमा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गइरहेको छ । जेठ १८ गते बाजुरामा कोरोना संक्रमणबाट १ बालिकाको मृत्यु भएको भएको थियो । बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टाइन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भएको थियो ।
विगत ७ दिनमा सुदूरपश्चिम प्रदेशका विभिन्न क्वारेन्टाइनमा रहेका अन्य ६ जनाको पनि मृत्यु भइसकेको छ । तर बाजुराकी बालिकाबाहेक अन्य कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । मृतकमध्ये ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टाइनमा २/२ जना र डोटीको क्वारेन्टाइनमा १ जनाको मृत्यु भइसकेको छ । प्रदेशमा पहिलो संक्रमितको मृत्यु भएकै जिल्ला बाजुरामा शनिबार थप १ जना वृद्धको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टाइनमा जेठ १६ गतेदेखि बस्दै आएका ६५ वर्ष वृद्धको शनिवार बिहान मृत्यु भएको हो ।
डडेल्धुराको क्वारेन्टाइनमा पनि २ जनाको मृत्यु भएको छ । जेठ २१ गते डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसअघि जेठ १७ गते राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भएको थियो । ती बालक आमाबुवासँगै भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए ।
शनिवार साँझ बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका ३१ वर्षीय पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह महराले बताएका छन् । मृतक पुरुष शनिवार बिहान भारतको बेंगलोरबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
यसअघि जेठ २० गते बैतडीको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया महिलाको मृत्यु भएको थियो ।
आईतवार बिहान डोटीको केआईसिंह गाउँपालिका–३ बासुदेबीमा ७ दिनअघि भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।