काठमाडौं – सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन् । उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो ।
स्थायी समितिका २० जना नेताले गत बैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित पत्र बुझाएका थिए ।
४५ सदस्यीय स्थायी समितिका २० सदस्य अर्थात् (झण्डै ४५ प्रतिशत) नेताले स्थायी समिति बैठक बोलाउन माग गत बैशाख १० गते नै गरेका थिए । त्यसयता बैशाख २५ र ३१ गतेका लागि स्थायी समितिको बैठक मिति त तोकियो तर बैठक बसेन ।
विधानत ३ महिनामा स्थायी समिति बैठक बस्ने नियमित प्रक्रिया पनि हो । न सदस्यहरुले माग गरे अनुसार नेकपाले बैठक बोलाउन सकेको छ, न विधानको नियमित प्रक्रिया अनुसार नै बैठक बसेको छ । विधान मान्ने हो भने पार्टी कमिटीका २५ प्रतिशत नेताहरूले लिखित माग गरेमा केन्द्रीय कमिटीको एक महिनाभित्र र मातहात कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्छ ।
अन्तरिम पार्टी विधानको धारा ५९ (४)मा त्यस्तो व्यवस्था स्पष्ट छ । अहिले पुनः बैठक बोलाउन पार्टी नेतृत्वलाई नेताहरूले दबाब बढाउन थालेका छन् । तर अहिलेसम्म बैठकको टुंगो नेतृत्वले लगाउन सकिरहेका छैनन् ।
‘हामीले बैठकका लागि नेतृत्व (अध्यक्षद्वय) लाई भनेको भन्यै छौं । तर नेतृत्वले बैठक बोलाउन किन चाहिरहेको छैन, हामी नै अचम्मित भइरहेका छौं,’ वरिष्ठ नेता झलनाथ खनालले भने ।
शुक्रवार मात्रै पनि अध्यक्ष प्रचण्डलाई खनाल लगायत नेकपाका केही नेताले अलग–अलग भेटेर बैठक बोलाउन ध्यानाकर्षण गराएका थिए । त्यसपछि शुक्रबार साँझ नै अध्यक्षद्वय ओली र प्रचण्डबीचमा पार्टी बैठकका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।
‘उहाँहरू छलफलमै हुनुहुन्छ भन्ने कुरा मात्र छ, प्रचण्ड कमरेड बैठक बोलाउन कसरत गरिरहनु भएको देखिन्छ तर प्रधानमन्त्री अहिले तयार भइसक्नु भएको देखिन्न,’ वरिष्ठ नेता खनालले भने । नेकपाले पार्टी बैठकबाट टुंग्याउनैपर्ने अनेक एजेण्डा छन् । जसका कारण सरकारले समेत उपयुक्त निर्णय लिन सकिरहेको छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन गर्ने/नगर्ने, नेपाल–भारत सीमा विवादमा अब चाल्नुपर्ने कदम के हुने, देखि कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारका कमजोरी कहाँ देखिए, यसलाई थप प्रभावकारी बनाउन के गर्ने जस्ता महत्त्वपूर्ण एजेण्डामा नेकपाले संस्थागत धारणा बनाउनुपर्ने नेताहरूको मत छ । १ वर्षयता संसद्मा एमसीसी सम्झौता विचाराधीन छ ।
असार १६ गतेभित्र अनुमोदन गराउन एमसीसीको बजेट कार्यावन्यन गर्ने नेपाल कार्यालय (एमसीए) ले सरकारलाई आग्रह गरेको छ । तर पार्टीभित्रको विवादका कारण नेकपा अनिर्णित बन्दा यसको अन्योल कायमै छ । त्यसैका लागि पनि सचिवालय हुँदै स्थायी समिति बैठक बोलाउनुपर्ने माग नेताहरूले उठाइरहेका छन् ।
जेठ १७ गते बसेको सचिवालयले एमसीसीका विषयमा पार्टीभित्रै गहन छलफलपछि निर्णय लिने निष्कर्ष निकालेको थियो । त्यसपछि सचिवालय बैठक समेत बस्न सकेको छैन । शुक्रवारको २ अध्यक्षको छलफलमा पनि बैठक बोलाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको खुमलटार स्रोतले जानकारी दिएको छ ।
नेताहरूको दबाबमा परेका प्रचण्डले ओलीसँग सचिवालय हुँदै स्थायी समिति बैठक बोलाउन र छलफल थाती रहेका महत्त्वपूर्ण एजेण्डामा निष्कर्षमा पुग्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले भने बैठक बोलाउने विषयमा आफूले पनि सोचिरहेको तर अहिले नै हतार नगरिहाल्न दाहाललाई आग्रह गरेको स्रोतले बताएको छ । २ अध्यक्षबीचमा सहमति नजुटेका कारण नेकपाको बैठक अझै अनिश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।