काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमण समुदायस्तरमा नफैलिएको र विदेशबाट आएका सीमित व्यक्तिमा मात्रै संक्रमण देखिएको भनेर स्वास्थ्य मन्त्रालयले दाबी गर्दै आएको छ ।
भारतसँग सीमा जोडिएका र भारतबाट लुकीछिपी आवतजावत हुनसक्ने जिल्लामा केही व्यक्तिमा संक्रमण देखिनु स्वाभाविक भएपनि राजधानी प्रवेश गर्ने नाकामा कडा सुरक्षाका बीच काठमाडौंभित्र प्रहरीमै कोरोना देखिन थालेको छ ।
काठमाडौंमा भित्रभित्रै कोरोना फैलिएको छ ? यसको जवाफ दिनुपर्ने निकाय स्वास्थ्य मन्त्रालय भए पनि काठमाडौंमा भेटिएका संक्रमितको संक्रमणको स्रोतबारे खुलाउने गरिएको छैन । विदेश यात्रा गरेको कुनै रेकर्ड नभएकी सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भयो ।
केही दिनअघि कालिमाटी वृत्तका २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिवार सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौंमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तर संक्रमितको संक्रमणको स्रोत खुलाइएको छैन । संक्रमितमध्ये २ जना प्रहरी रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार काठमाडौंका नयाँ संक्रमितमध्ये २ जना महिला र २ जना पुरुष रहेका छन् । संक्रमितहरू २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष रहेका छन् ।
संक्रमित प्रहरीमध्ये एक जना नेपाल प्रहरी अस्पतालमा कार्यरत रहेका र अर्का अस्पतालमा नै डायलासिस गराइरहेका प्रहरी रहेका छन् ।
देशभर कोरोना संक्रमितको संख्या ३ हजार नाघिसकेको छ भने १३ जनाको मृत्यु भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।