काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले र्यापिड डायग्योस्टिक टेस्ट (आरडीटी) परीक्षणका नाममा नेपालीमाथि अत्याचार गरिरहेको पुष्टि भएको छ ।
आरडीटी परीक्षण गर्दै कोरोना संक्रमण नभएको भनेर घर पठाउने र घर गएर मृत्यु भइसकेपछि पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना पुष्टि हुने क्रम रोकिएन ।
केही दिनअघि सुर्खेतमा मृत्यु भएका व्यक्तिमा समेत आरडीटी नेगेटिभ आएर मृत्यु भएपछि पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो । त्यस्तै घटना शनिवार समेत सार्वजनिक भएको छ । डोल्पामा आरडीटी नेगेटिभ आएपछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण कैलाली र डोल्पामा १–१ जनाको मृत्यु भएको शनिवार सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
मृत्यु भएपछि ती महिलाको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए । यी महिलालाई अस्पतालमा भर्ना गर्नुअघि आरडीटी परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।
डोल्पामा पनि कोरोनाले १ जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनी जेठ १८ गते नेपालगञ्ज, सुर्खेत, जुम्ला हुँदै डोल्पा पुगेर आरडीटी रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएका थिए ।
घरमा उनको जेठ २० गते मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १३ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।