काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको गम्भीर गल्तीका कारण रौतहटको गुजरा नगरपालिकाका गाउँघरमा त्रास फैलिएको छ ।
मन्त्रालयले कोरोना भाइरस संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई पनि पोजेटिभ भएको विवरण सार्वजनिक गरेपछि तनाव सिर्जना भएको हो ।
मन्त्रालयले शुक्रबार रौतहटका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा जानकारी गराएको छ । मन्त्रालयले रौतहटको ईशनाथ नगरपालिकाको विभिन्न वडामा ५ जना र गुजरा नगरपालिकामा १ जना गरी शुक्रबार ६ जनामा कोरोना पुष्टि भएको जानकारी गराएको हो ।
तर रौतहटस्थित जिल्ला अस्पतालले स्वास्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण गलत भएको दाबी गरेको छ । जिल्ला अस्पताल गौरका प्रमुख महेश साहले रौतहटमा थप ५ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको बताए । इशनाथका ५ जनामा मात्र संक्रमण पुष्टि भएको र गुजरा नगरपालिकाका संक्रमित भनिएका व्यक्तिको रिपोर्ट नेगेटिभ रहेको प्रस्ट पारिएको छ ।
प्रमुख साहले पीसीआर नेगेटिभ भएका व्यक्तिको ठेगाना भुलबश स्वास्थ्य मन्त्रालयले पोजिटिभ भनेर सार्वजनिक गरेको बताए । शुक्रवार थप ५ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा संक्रमितको संख्या ३९२ पुुगेको छ ।
यसअघि समेत मन्त्रालयले ठेगाना गलत भन्ने, संक्रमित व्यक्ति हाल रहेको ठेगाना लुकाएर स्थायी ठेगाना भएको जिल्लामा त्रास फैलाउने काम गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।