काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला नेपाली सेनाले भारतको सरकार नियन्त्रित ब्युरो अफ फर्मा पिएसयुज अफ इन्डिया (बिपिपिआई)सँग कोभिड–१९ का लागि औषधि खरिद टुंग्याएको थियो । तर बिपिपिआईसँग औषधि निर्यात गर्ने लाइसेन्स नभएका कारण सेनाले सम्झौता गर्न सकेन ।
दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयमार्फत औषधि खरिदसम्बन्धी सम्झौता र भुक्तानी गर्ने प्रस्ताव पठाएको थियो ।
तर नेपाल र भारतबीच पछिल्लोपटक उत्पन्न नक्सा विवादका कारण भारतले यसमा केही जवाफ नदिएको सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘भारतसँग औषधि खरिद गर्ने प्रक्रिया सम्झौता नभएका कारण अड्किएको छ । खरिद सम्झौता कोसँग गर्ने भन्ने अझै टुंगिएको छैन । हामी प्रयत्न गरिरहेका छौं ।’ तर एक कूटनीतिक अधिकारीले भने नक्सा विवादको असर औषधि खरिदमा देखिएको टिप्पणी गरे ।
भारतले नेपालको लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेसँगै नेपालले त्यसको विरोध र परराष्ट्रसचिवस्तरीय वार्ताको आग्रहसहित पत्र पठाएको थियो । तर भारतले औपचारिक रूपमा जवाफ दिएको छैन । प्रधानमन्त्री केपी ओली आफैं तथा नेकपा नेताहरू विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र नेपाली सेनाका उच्च अधिकारीको तहबाट पनि भारतसँग अनौपचारिक संवाद भइरहेको छ ।
भारतमा भाजपा नेताहरू विजय चौथाइवाले, राम माधव, विजय जोली लगायतका नेताहरू प्रधानमन्त्री ओली र उनीनिकट नेताहरूसँग सम्पर्कमा छन् । सूत्रहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि प्रधानमन्त्री ओली निकटका नेताहरू सम्पर्कमा छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘सबै तहमा संवाद भइरहेको छ, यद्यपि भारतको विदेश मन्त्रालयबाट सकारात्मक जवाफ नआएको हुनाले वार्ता कहिले हुन्छ भन्न सकिने अवस्था छैन,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो । अनौपचारिक छलफलमा संलग्न स्रोतहरूका अनुसार भारतले संविधान संशोधन रोकेर वार्ताको परिस्थिति बनाउन नेपाललाई प्रस्ताव गरेको छ ।
तर नेपालले भारतबाट स्पष्ट मिति तोकिएको वार्ता प्रस्ताव पठाउनुपर्ने सन्देश पठाएको छ । नेपालले संविधान संशोधन प्रक्रिया रोक्न सकिने नसकिने केही स्पष्ट सन्देश पठाएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।