काठमाडौं – नेपाली राजनीतिमा ठूल्ठूला सैद्धान्तिक कुरा गर्ने र बौद्धिक नेता भनेर चिनिएका घनश्याम भुसाल कृषि तथा पशुपन्छी मन्त्री भएपछि प्रायः मौन छन् ।
मन्त्री भुसालले पहिला जस्तो सैद्धान्तिक गफ दिन छाडेका छन् । समाजवादका कुरा गर्ने भुसालले मन्त्री भएपछि केही काम देखाउन नसक्दा उनको आलोचना भइरहेको छ ।
मन्त्री भएपछि केही काम गर्न नसकेपछि मन्त्री भुसालले कुरा गरेजस्तो काम गर्न सजिलो नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताए ।
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा उपस्थित भएका मन्त्री भुसालले नेपालमा उत्पादन भएको दूधजन्य वस्तुहरूको बिक्री गर्न नसकेको स्वीकार गर्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको बताएका छन् ।
मन्त्री भुसालले पहिला आफूलाई पनि त्यस्तै लाग्ने गरेको तर अहिले काम गर्न कठीन भइरहेको स्वीकार गरेका छन् । ‘दूधको बटर हामीसँग १ हजार मेट्रिक टन बढी भइसकेको छ, थुप्रिएको छ । उत्पादनको हिसाबले १५ सय मेट्रिक टन पाउडर दूध थुप्रिएको छ । त्यो बेच्नुपर्ने छ त्यसको करीब–करीब दुई–अढाई अर्ब त्यहाँ रोकिएको छ । त्यसले गर्दा त्यो रेगुलेट सर्कुलेट हुन पाएको छैन । अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको छ सकिएको छैन । सेना पुलिसलाई खुवाउन सकिन्छ कि भनिएको थियो त्यो पनि सकिएको छैन । माघ देखि मात्रै ठेक्का लाग्दो रहेछ त्यसले गर्दा खेरी प्रोबोलम छ । मान्छेहरूले सामान्य फेसबुकमा, बाटोमा यसो गरिदिए हुन्छ नि भन्छन्, मलाई पनि त्यस्तो लाग्थ्यो त्यो सजिलो रहिन्छ,’ उनले भने ।
मन्त्री भुसालले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताए । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया, २० हजार टन डीएपी मल र साढे ५ हजार मेट्रिक टन जति पोटास रहेको तर त्यतिले नपुग्ने उनले बताएका छन् । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको भुसालले बताए ।
कृषि पेशामा लाग्ने किसानको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठूलो काम हुने बताए । उनले अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गरिने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।