काठमाडौं – सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अन्य विकल्प नसोची लकडाउन मात्रै लम्ब्याउँदै जाँदा व्यवसाय धरापमा पर्दै गएको भन्दै देशभरका उद्योगी–व्यवसायी आन्दोलित बनेका छन् ।
व्यवसायीले मुलुकका प्रमुख सहरमा लकडाउनको विरोधमा पसल समेत खोलेका थिए । झण्डै साढे २ महिनादेखि उद्योग–व्यवसाय ठप्प हुँदा बैंकको साँवा–ब्याज तथा कर तिर्न मात्रै नभई दैनिक जीवनयापनमै समस्या भएको भन्दै व्यवसायीहरूले लकडाउनको अवज्ञा थालेका हुन् ।
काठमाडौं, वीरगञ्ज, मकवानपुर, चितवन, पोखरा, नेपालगञ्ज, सुर्खेत, दोलखा लगायतका विभिन्न शहर बजारमा व्यवसायीले पसल खोलेर लकडाउनको अवज्ञा गरे । निजी क्षेत्रका छाता संगठनहरूको अगुवाइमा व्यवसायीहरूले निश्चित समय तोकेर आ–आफ्ना उद्योग–व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
वीरगञ्जमा युवाले कपडा खोलेर लकडाउनको विरोध प्रदर्शन गरेका थिए । हेटौंडामा पसल खोल्ने र प्रहरीले बन्द गर्ने लुकामारी चलेको थियो । नेपालगञ्जमा लकडाउनको विरोधमा जिल्ला उद्योग वाणिज्य संघ आन्दोलित भएको छ ।
दोलखाका व्यवसायीले बिहान १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न थालिसकेका छन् । काठमाडौंको बौद्ध, जोरपाटीका व्यवसायीले ‘लकडाउन अब अति भयो’ भन्दै मंगलवार पसल खोले । व्यापारीहरूले स्वस्फूर्त रूपमा पसल खोल्न थालेपछि प्रहरीले सामान्य धरपकडसमेत गर्यो ।
व्यवसायीले पसल खोल्ने तर प्रहरीले खोल्न नदिने कार्य हुँदा एकछिन सामान्य झडप समेत भएको थियो । मंगलबार नै चितवनमा समेत व्यवसायीले लकडाउनको अवज्ञा गर्ने भन्दै सडकमा निस्किए ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघले लकडाउन लम्ब्याउँदै जाने सरकारी नीतिको विरोध गर्दै लकडाउन खुकुलो बनाउन माग गरिसकेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन मात्रै बढाउँदै लैजाने सरकारी नीतिप्रति महासंघले विरोध जनाएको छ ।
दोलखामा उद्योग वाणिज्य संघको अगुवाइमा बिहान १२ बजेसम्म व्यापार व्यवसाय खोल्न थालिएको छ । जिल्ला प्रशासनसँगको सहमतिमै पसल तथा अन्य व्यवसाय खोल्न थालिएको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताएका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली प्रदेशका मुख्यमन्त्री र जिल्ला प्रशासन प्रमुखलाई लकडाउन खुकुलो बनाउन भन्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ । लकडाउन खुकुलो नबनाए व्यवसायीले स्वस्फूर्त रूपमा त्यसको अवज्ञा गर्ने संघका महासचिव लक्ष्मण कँडेलले बताए ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुका साथै सामाजिक दूरी कायम राखेर सुर्खेतका व्यापार व्यवसाय २–३ दिनभित्र सञ्चालन गरिने उनले बताए । अहिले पनि केही–केही पसलहरू भने खुल्न थालिसकेको उनले जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघले लकडाउन खुकुलो नबनाए अवज्ञा गर्ने चेतावनी दिएको छ । संघले बुधवार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । संघका अध्यक्ष दामु अधिकारीले सरकार आफैंले लकडाउन खुकुलो बनाएर व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाए व्यवसायी आफ्ना व्यवसाय सञ्चालन गर्न बाध्य हुने चेतावनी दिए ।
लकडाउनको विरोधमा वीरगञ्जका युवाले कपडा खोलेर प्रदर्शन गरेका छन् । उनीहरूले निश्चित मापदण्ड तोकेर उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउनसमेत सरकारसँग माग गरेका छन् ।
आयात–निर्यातकर्ता व्यवसायीहरूको संस्था नेपाल समुद्रपार निकासी–पैठारी संघले पनि लकडाउन खुकुलो बनाउन माग गरेको छ । संघले विज्ञप्ति नै जारी गरेर लकडाउनका कारण अर्थतन्त्र र जनजीवनमा थेग्नै नसक्ने चाप परेको भन्दै लकडाउन खुकुलो गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न दिन माग गरेको हो ।
लामो समय लकडाउन हुँदा व्यवसाय धराशायी भएको भन्दै व्यवसायीले लकडाउनको अवज्ञा गरेका छन् । उनीहरूले प्रशासनको अनुमति विना पसल खुला गर्न थालेका छन् ।
मकवानपुर प्रशासनले बिहान ६ देखि ९ बजेसम्म अतिआवश्यक वस्तु खरिद–बिक्रीबाहेक सबै बन्द गरेको छ । तर बुधवार भने उद्योग वाणिज्य संघको नेतृत्वमा बजारमा सबै किसिमका पसल खुला भए । संघले जेठ १९ गते पत्रकार सम्मेलनमार्फत जेठ २१ गतेदेखि प्रशासनले अनुमति नदिए पनि सबै पसल खुला गर्ने जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
बुधवार प्रहरी र व्यवसायीबीच करीब २ घण्टा रमिते चर्तिकला भएको थियो । पसल खुला भएपछि प्रहरीले तत्काल बन्द गरेका थिए । व्यवसायी सटर खुला गर्ने र प्रहरी पछि–पछि बन्द गर्दै भीडभाड हटाउने प्रयासमा जुटेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेका अनुसार कोरोना प्रभाव र लामो समय लकडाउनले व्यवसाय धराशायी हुँदै गएको अवस्थामा बिहान ६ देखि ९ बजेसम्म सबै किसिमका पसल खुला गर्न प्रशासनसँग बारम्बार अनुरोध गरिएको थियो । तर कुनै सुनुवाइ नभएपछि लकडाउनको अवज्ञा गर्नुको कुनै विकल्प नरहेको न्यौपानेले बताएका छन् ।
मकवानपुर प्रजिअ दीपकराज नेपालले प्रशासनको अनुमतिविना पसलहरू खुला गरिएपछि प्रहरी परिचालन गराएर बन्द गराउनुपरेको जानकारी दिए । प्रजिअ नेपालले अनुमतिविना अत्यावश्यक सेवाबाहेकका पसलहरू खोल्न नपाइने र खोलिए कारबाही गर्ने बताएका छन् ।
हेटौंडाको मेनरोड, राप्तीरोड, स्कूलरोड, कान्तिराजपथ, पारिजातपथ, टीसीएनरोड, बसपार्क लगायतका क्षेत्रमा कपडा, जुत्ता पसलदेखि साना होटेल र मदिरा पसल पनि खुलेका थिए । प्रहरी प्रशासनले बिहान ९ बजेपछि पसल बन्द गर्न अनुरोध गरे पनि पछिल्लोपटक थप गरिएको लकडाउनदेखि बजारका अधिकांश पसल लुकिछिपी खुला हुने गरेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघले निजी क्षेत्रका लागि तत्काल राहत घोषणा गर्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले जेठ २५ गतेभित्र कर तिर्नुपर्ने म्यादलाई असार ७ गतेसम्म पुर्याए पनि अपर्याप्त भएको भन्दै संघले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
संघले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको छ । संघले बिहीवार बिहान ९–१० बजेसम्म कर तिर्न नसक्ने व्यहोरा सहितका प्लेकार्ड राखेर आ–आफ्नो प्रतिष्ठान वा घरबाट विरोध प्रदर्शन गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ ।
त्यसपछि उद्योगी–व्यवसायीसँग छलफल गरी आवश्यक रणनीति तय गर्ने निर्णय भएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए । संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार लकडाउन अवधिभरलाई शून्य समय मानी तिर्नुपर्ने सम्पूर्ण कर लकडाउन खुलेको कम्तीमा तीन महिनापछि तिर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।