काठमाडौं – चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गर्ने सम्बन्धी कानून बनाएपछि अन्तर्राष्ट्रिय मञ्चमा विवाद देखिएको छ ।
स्वशासनमा रहेको हङकङमा चीनले हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका, बेलायत, भारत लगायत शक्तिशाली देशले विरोध जनाएका छन् भने चीनले आन्तरिक मामिला भनिरहेको छ ।
विवाद बढ्दै गइरहेका बेला बेलायतले चीनलाई ठूलो झड्का लाग्ने घोषणा गरेको छ । स्मरणरहोस्, बेलायतले लामो समय शासन गरेको हङकङ एक सम्झौतापछि चीन नियन्त्रित भएको थियो । चीनले हङकङमाथि दमन गर्न थालेको भन्दै बेलायत ‘एक्सन’मा उत्रिएको छ ।
चिनियाँ दमनबाट मुक्त गर्न हङकङका ३० लाख व्यक्तिलाई नागरिकता दिने घोषणा बेलायतले गरेको छ । हङकङको कूल जनसंख्या करीब ७४ लाख रहेको छ । स्वतन्त्रता अधिकारको प्रत्याभूति गर्ने शर्तसहित हङकङ चीनलाई हस्तान्तरण गरिएको स्मरण गराउँदै बेलायतले निहुँ नखोज्न चेतावनी दिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलमा प्रकाशित रिपोर्ट अनुसार बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले चीनले हङकङका नागरिकमाथि दमन गर्न थालेपछि उनीहरूलाई नागरिकता दिनुबाहेक विकल्प नभएको जनाएका छन् । चीनको राष्ट्रिय सुरक्षा कानूनले हङकङको स्वतन्त्रता कुण्ठित गर्न खोजेको प्रधानमन्त्री बोरिसको आरोप छ ।
चीनले हङकङमाथि दमन गरे चीन र बेलायतबीच भएको पुरानो करार सम्झौता समेत भंग हुने प्रधानमन्त्री बोरिसले दाबी गरेका छन् । चीनको दमन नरोकिए बेलायतले भिसा प्रणाली फेरबदल गर्दै हङकङका वासिन्दालाई सहज आवागमन गरिने प्रधानमन्त्री बोरिसले बताए ।
गत २८ मेका दिन चीनको संसदले नयाँ कानूनलाई पारित गरेको थियो । नयाँ कानून अनुसार चीनका सुरक्षा निकायले हङकङमा गएर कारवाही चलाउनसक्ने व्यवस्था गरिएको छ । यसअघि अमेरिकाले समेत हङकङसँगका सबै विशेष सम्बन्ध अन्त्य गर्ने घोषणा गरिसकेको छ । भारत समेत हङकङको स्वतन्त्रताको पक्षमा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।