काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीन सरकारको निर्णयमा समर्थन जनाएको छ ।
हङकङको शासन व्यवस्था सम्बन्धमा अमेरिका र भारतबाट विवाद सिर्जना भइरहेका बेला नेपाल सरकारले चीनको पक्षमा उभिने निर्णय गरेको छ तर चीन सरकारले भने नेपाल सरकारको निर्णयलाई समर्थन गर्ने हिम्मत गर्दैन ।
भारतले नेपाली भूमि अतिक्रमण गर्दा चीन सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि हो भनेर विज्ञप्ति निकाल्न सकेको छैन तर नेपाल सरकारले हङकङ चीनकै हिस्सा हो भनेर विज्ञप्ति निकालेको छ । यसरी कम्युनिस्ट सरकार चीनको सेवामा मात्रै एकतर्फी रुपमा किन लागेको छ ?
छिमेकी चीनले हङकङका सम्बन्धमा जेठ १५ गते पारित गरेको राष्ट्रिय सुरक्षा सम्बन्धी ऐनलाई नेपाल सरकारले विज्ञप्ति नै निकालेर समर्थन गरेको छ । नेपालले एक चीन नीति दोहोर्याएको भन्दै चीनको हङकङमा शान्ति सुरक्षाका लागि गरेको प्रयास सही भएको पक्ष लिएको छ ।
हङकङमा आतंकवाद, बिखण्डन, बाह्य हस्तक्षेपलाई निस्तेज गर्न भन्दै चीनको नेसनल पिपुल्स कंग्रेसले विधेयक पारित गरेको थियो । यसबारे अमेरिका लगायत पश्चिमा मुलुकले विरोध जनाएका छन् भने ओली सरकार चीनतिर ढल्किएको छ ।
चीनले भने एक मुलुक दुई प्रणालीको अवधारणा हङकङको हकमा कायम हुने स्पष्ट पार्दै आएको छ । बेलायतबाट १९९७ जुलाई १ मा चीनले हङकङ फिर्ता लिएको थियो । त्यसबेला चीनले सन् २०४७ सम्म हङकङमा राजनीतिक, आर्थिक र कानूनी स्वतन्त्रता दिने गरी एक देश दुई प्रणाली लागू हुने सहमति गरेको थियो । हङकङलाई चीनको अभिन्न अंगका रूपमा नेपालले सुरूदेखि नै समर्थन गर्दै आएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बुधबार जारी विज्ञप्तिमा शान्ति, कानून र सुव्यवस्था कुनै पनि राष्ट्रको प्राथमिक जिम्मेवारी भएको जनाइएको छ । ‘नेपाल एक चीन नीतिका पक्षमा छ र हङकङलाई चीनको अभिन्न अंगको रूपमा लिन्छ,’ चीनको पछिल्लो निर्णयबारे सोधिएको प्रश्न भन्दै प्रवक्ता पौड्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कुरामा विश्वास गर्दछ र हङकङमा कानून–व्यवस्था कायम गर्ने चीनको प्रयासलाई समर्थन गर्दछ ।’
ओली सरकारले स्पष्ट रुपमा चीनतिर ढल्किएको बेला चीनले भने नेपाललाई सघाउनुपर्ने बेला कूटनीतिक भाषा प्रयोग गर्ने गरेको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेको बेला चीनले सीमा विवाद दुई देशको विषय भएकाले आपसमा वार्ता गरेर मिलाउन सुझाव दिएको थियो । नेपालसँग पर्याप्त प्रमाण हुँदा समेत चीनले लिम्पियाधुरा नेपालकै हो भनेर भन्ने हिम्मत गर्दैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।