परासी–नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ ।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका–५ सुस्ताको १४ हजार ५०० हेक्टर भारतले अतिक्रमित गरिसकेकाले नयाँ नक्सामा सुस्ताको क्षेत्रफल स्पष्टरूपमा उल्लेख गर्न माग गरिएको हो । सुस्तासहित भारतले अतिक्रमण गरेका भूभागमा सीमाङ्कन गरी जङ्गे पिलर सीमास्तम्भ कायम गर्नुपर्ने सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए।
करिब १९ हजार ४८० हेक्टर जमिन विवादित भन्दै भारतले सुस्तावासीलाई उपयोग गर्न नदिएको अभियानका अध्यक्ष गुरुङले उल्लेख गरे। बाँकी रहेको सात हजार हेक्टर मात्र अहिले सुस्तावासीले भोगचलन गर्दै आएका छन् ।
विसं २०६२ देखि २०६४ भित्रमा भारतले सुस्ता क्षेत्रमा अतिक्रमण गरेको थियो । अहिले भोगचलन गर्दै आएको सात हजार हेक्टर जमिनको पनि लालपुर्जा नभएकाले तत्काल नापी नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्नुपर्ने अभियानका उपाध्यक्ष आदम खाँले माग गरे । विवादित भनिएको १९ हजार ४८० हेक्टर र भारतले अतिक्रमण गरेको भूमिसमेत फिर्ता ल्याउनुपर्ने भन्दै विवादित भनिएको भूमिमा सुस्तावासीले विसं २०६० सम्म जोतभोग गर्दै आएको उनले बताए ।
सुस्तामा विसं २०२२ देखि बसोबास शुरु भएको थियो । विसं २०३४ मा नारायणी नदीमा आएको बाढीका कारण तत्कालीन सुस्ता पञ्चायत (हालको विवादित भनिएको १९ हजार ४८० हेक्टर क्षेत्रफल जमिन) मा रहेका नौ गाउँलाई पक्लिहवा, त्रिवेणीलगायतका स्थानमा स्थानान्तरण गरिएको थियो । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले निर्माण गरेका संरचनाका कारण नारायणी नदीको बहाव परिवर्तन भइ सुस्तातर्फ केन्द्रित हुँदा सुस्तावासीले समस्या भोग्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।