काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या नेपालमा भर्खरै ५ जना थपिएको छ ।
मंगलवार साँझ झापामा थप ५ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
संक्रमितहरू भारतबाट स्वदेश फर्किएका व्यक्ति हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका ३ र झापाका १ जना रहेका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले बताएका छन् ।
जेठ १३ गते गाउँपालिकाको होल्डिङ एरियामा आएकाहरूको १४ गते नमूना संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर नमूना पठाएको ६ दिनपछि मंगलवार कोरोना परीक्षणको नतिजा आएको छ ।
झापामा ५ जनामा संक्रमण पुष्टि भएसँगै १ नम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या १७२ पुगेको प्रदेश सरकारले जनाएको छ । संक्रमितमध्ये ४८ जना डिस्चार्ज भइसकेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ सय ४ पुगेको छ । यसअघि अपराह्न पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या २ हजार ९९ पुगेको जानकारी दिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।