काठमाडौं– १५ जेठमा बजेट जारी गर्दा उल्लेख्य कटौती गरेको भनिएको कर्मचारी भत्तामै झण्डै १३ अर्ब विनियोजन गरिएको भेटिएको छ । कोरोनाको कारण देखाउँदै अर्थमन्त्री खतिवडाले विभिन्न कार्यालयका कर्मचारीलाई दिंदैआएको कार्यसम्पादन र जोखिम भत्ता खारेज गरेको घोषणा गरेका थिए ।
यस्तो घोषणा आउँदा सदनमा माननीयहरुले जोडले ताली ठोकिरहेका थिए । तर व्यापक कटौती गरिएको भनिएको भत्तामै चालु आर्थिक बर्षको भन्दा साढे ३ अर्ब रकम थपेको देख्न सकिन्छ ।
यसअघि राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री कार्यालय, निजामती कितावखाना, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अन्य संवैधानिक निकायहरु निर्वाचन र लोकसेवा आयोग,कोष तथा लेखा नियन्त्रकको कार्यालय,राष्ट्रिय सतर्कता केन्द्र, निजामती किताबखाना, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, महान्यायाधिवक्ताको कार्यालय,राहदानी विभाग, सर्वोच्च अदालतका कर्मचारीदेखि आन्तरिक राजस्व विभाग, भन्सारका कर्मचारी, विश्वविद्यालयका कर्मचारीहरुले समेत कार्यसम्पादनका आधारमा ३० देखि सतप्रतिशतसम्म भत्ता बुझ्दै आएका थिए । अर्थमन्त्री खतिवडाले यस्तो भत्ता आगामी १ साउनदेखि खारेजीको गर्दा असमान ढंगले भत्ता बुझ्ने कर्मचारीहरुको संख्या २० हजार हाराहारी रहेको छ ।
तर अर्थमन्त्री खतिवडाले उल्लेख्य कटौती गरिएको भनिएका शीर्षकमा अघिल्लो आर्थिक बर्षको भन्दा अझैं बढाएर छुट्याइएको भेटिन्छ ।
जस्तो स्थानीय भत्तामात्र ५६ करोड थपेर विनियोजन भएको छ । उस्तै गरी मंहगी भत्ता,फिल्ड भत्ता,प्रोत्साहन भत्ता,गोष्ठी लगायतको शीर्षकमा विनियोजन गरिएको रकम चालु आर्थिक बर्षको भन्दा झण्डै साढे तीन अर्बले बढी भएको अर्थ मन्त्रालयका एक अधिकारीले जनआस्थालाई सुनाए ।
कटौती गरिएको भनिएको भत्ता शीर्षकमै अर्थले १२ अर्ब ९५ करोड छुट्टाएको छ । बजेटको अनुसूची ६ पल्टाउने हो भने, कर्मचारी भत्ता शीर्षकमै झण्डै १३ अर्ब रकम देख्न पाइन्छ ।
खारेज गरिएको भनिएको,स्थानीय भत्ता १ अर्ब ९६ करोड ६२ लाख,मंहगी भत्ता ७ अर्ब १६ करोड ६३ लाख,फिल्ड भत्तामा १ करोड ५६ लाख,कर्मचारी बैठक भत्ताबापत २० करोड ३७ लाख,कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा १६ करोड ५९ लाख,वैदेशिक भत्तामा ८२ करोड ८९ लाख छ भने नखुलाइएको शीर्षकमा २ अर्ब ५९ करोड ८१ लाख परेको छ ।
चालु आर्थिक बर्षको भन्दा स्थानीय भत्ताको बजेट ५६ करोड थपिएको छ । र पदाधिकारी तथा अन्यको सुविधाको बजेट २४ करोडले थपेर विनियोजन गरिएको छ । यस्तै पदाधिकारीको इन्धनमा ३ करोड, सवारी साधन मर्मतमा १ करोड, गोष्ठीमा २ अर्ब, भ्रमणमा ८ करोड, अन्य भ्रमणमा २ करोड ८० लाख र फर्निचरमा ९ करोड रुपैंया थपेर विनियोजन भएको छ । जनआस्था साप्ताहिकबाट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।