आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बैंकले ५% ब्याजदरमा ऋण दिने, पुनर्कर्जा कार्यविधि स्वीकृत

बैंकले ५% ब्याजदरमा ऋण दिने, पुनर्कर्जा कार्यविधि स्वीकृत

  • मिडिया डबली
  • मंगलवार, जेठ २० २०७७

  • 9.8K
    SHARES

  • बैंकले ५% ब्याजदरमा ऋण दिने, पुनर्कर्जा कार्यविधि स्वीकृत

    काठमाडौं – कोरोना भाइरस (कोभड–१९) संक्रमणका कारण समस्यामा परेका व्यवसायलाई तत्काल २ खर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बाटो खुला भएको छ ।

    नेपाल राष्ट्र बैंकले त्यस्तो प्रावधान सहितको बहुप्रतिक्षित पुनर्कर्जा कार्यविधि स्वीकृत गरी सार्वजनिक गरेको हो ।

    कार्यविधि अनुसार अब १ वर्षका लागि बैंकहरूबाट ३ देखि ५ प्रतिशत ब्याजदरमा ऋण पाइनेछ । त्यस्तो ऋणको शोधभर्ना बैंकहरूलाई राष्ट्रबैंकले गर्नेछ ।

    कार्यविधिमा पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम (एसएमई) पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी ३ भागमा वर्गीकरण गरेको छ । यसअघि साधारण पुनर्कर्जा र विशेष पुनर्कर्जा गरी २ भागमा मात्रै यसको वर्गीकरण हुन्थ्यो । पुनर्कर्जाको प्रकृति अनुसार ऋण रकम र ब्याजदर फरक–फरक हुने व्यवस्था गरिएको छ ।

    राष्ट्र बैंकको प्रावधान अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । सो कर्जाबापत बैंकहरूले ऋणीसँग ५ प्रतिशत ब्याज लिन पाउनेछन् । राष्ट्रबैंकले बैंकहरूलाई २ प्रतिशत ब्याजदरमा त्यस्तो ऋण उपलब्ध गराउने छ ।

    विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जाको सीमा १० करोड रुपैयाँ तोकिएको छ । यद्यपि औद्योगिक व्यवसाय ऐन अनुसार प्राथमिकताप्राप्त उद्योगहरूका लागि २० करोडसम्मको पुनर्कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ । विशेष पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत र साधारण पुनर्कर्जाको ब्याजदर ५ प्रतिशत हुनेछ । यस्तो ऋण राष्ट्रबैंकले बैंकहरूलाई क्रमशः १ प्रतिशत र ३ प्रतिशत उपलब्ध गराउने छ ।

    अहिले नेपाल राष्ट्रबैंकले पुनर्कर्जा कोषको सीमा ६० अर्ब रुपैयाँ तोकेको छ । राष्ट्रबैंकले ६० अर्ब रुपैयाँ भने पनि अहिले पुनर्कर्जा कोषमा ४३ अर्ब रुपैयाँ मात्रै छ । नयाँ कार्यविधि अनुसार त्यो रकम पुनर्कर्जाको सुरक्षणको लागि मात्रै प्रयोग हुन्छ ।

    वास्तविक ऋण त्यसको ५ गुणासम्म प्रवाह गर्न सकिन्छ । यसो हुँदा अहिलेको कोषले बजारमा तत्कालै २ खर्ब १५ अर्ब रुपैयाँ प्रवाह हुनसक्छ । त्यसमध्ये अहिले १८ अर्ब रुपैयाँको पुनर्कर्जाको प्रयोग भएको छ । यसले गर्दा तत्कालै १ खर्ब ९७ अर्ब रुपैयाँको पुनर्कर्जा प्रयोग हुन सक्नेछ ।

    कार्यविधिमा यस्तो पुनर्कर्जा कहाँबाट दिने भन्ने केही उल्लेख गरिएको छैन । तर अहिले पनि बैंकहरूलाई राष्ट्रबैंकले खुला बजार कारोबार अन्तर्गत सरकारी सुरक्षणपत्र धितोमा रिपो जारी गरिरहेको छ । राष्ट्र बैंकले त्यस्तै गैरकोषमा आधारित पुनर्कर्जाको परिकल्पना गरेको देखिएको छ ।

    नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पुनर्कर्जा कोषमा भएको रकमको ५ गुणासम्म पुनर्कर्जा प्रवाह हुनसक्ने व्यवस्था गरेको बताए । ‘हामीले ६० अर्बको पुनर्कर्जा कोष बनाउने भनेका थियौंं, अब त्यो १०० अर्ब पुग्दैछ । त्यसको सूचना केही दिनभित्रै आउँछ । १०० अर्बको पुनर्कर्जाको कोष भएपछि ५०० अर्ब रुपैयाँसम्म पुनर्कर्जा प्रवाह हुनसक्छ,’ डेपुटी गभर्नर शिवाकोटीले भने ।

    पुनर्कर्जा कोषको रकममध्ये ७० प्रतिशत रकम राष्ट्रबैंकको आह्वानमा बैंक तथा वित्तीय संस्थाले एकमुष्ठ रुपमा वितरण हुने व्यवस्था गरिएको छ । २० प्रतिशत रकम ग्राहकको मूल्यांकन गरी दिइने साधारण कर्जाको सुरक्षणमा बैंकहरूले पुनर्कर्जा बापत प्राप्त गर्न सक्नेछन् । बाँकी १० प्रतिशत पुनर्कर्जा भने लघुवित्त संस्थाबाट प्रदान गरिनेछ ।

    पुनर्कर्जाका लागि राष्ट्रबैंकले आह्वान गरे बमोजिम बैंकहरूले सर्वसाधारणलाई कर्जाका लागि आह्वान गर्नेछन् । उक्त अवधिमा तोकिएको कागजातसहित ग्राहकहरूले बैंकका सम्बन्धित शाखामा आवश्यक कागजात सहितको निवेदन दिनुपर्नेछ । त्यसरी निवेदन प्राप्त भएको १ महिनाभित्र उक्त पुनर्कर्जासम्बन्धी निर्णय हुने जनाइएको छ । तर राष्ट्रबैंकले प्रतिशाखा ५ ग्राहकले मात्रै त्यस्तो पुनर्कर्जा सुविधा प्राप्त गर्नसक्ने राष्ट्रबैंकको कार्यविधिमा स्पष्ट गरिएको छ । त्यसो गर्दा प्रादेशिक सन्तुलन मिलाउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

    ऋणीले ऋण लिँदा ऋणीले निवेदनसहित अघिल्ला ३ आर्थिक वर्षको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्रमा कालोसूचीमा नपरेको कर्जा सूचना केन्द्रको प्रमाण तथा निर्यात पुनर्कर्जाको हकमा यसअघि निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेको पुष्टि हुने कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंकले ती कागजातहरूको जाँचबुझ गर्ने र वासलातको अध्ययन गरेर ऋण–स्वपुँजी अनुपात तथा पुनर्कर्जाको प्रभावकारिता हेरेर निर्णय गर्नुपर्ने भनिएको छ ।

    राष्ट्रबैंकले यसअघि प्रवाह भएका ऋणमा पनि पुनर्कर्जा सुविधा दिनसक्ने व्यवस्था गरेको छ । जसका लागि एसएमई अन्तर्गत १५ लाखसम्म ऋण प्रवाह भएका कर्जा, विदेशबाट फर्किएका उद्यामीलाई प्रवाह भएको कर्जा तथा कृषिउत्पादन, पशु तथा मत्स्यपालन व्यवसायका लागि प्रवाह भएको कर्जामा समेत पुनर्कर्जा सुविधा लिनसक्ने व्यवस्था समेत गरिएको छ । विशेष पुनर्कर्जा अन्तर्गत निर्यातजन्य उद्योग र सीमान्तकृत समुदायले सञ्चालन गरेका उद्योग, रुग्ण उद्योग र वैदेशिक रोजगारीमा जानेलाई प्रवाह गरिएको कर्जालाई यस्तो सुविधा दिन सकिन्छ ।

    साधारण पुनर्कर्जा अन्तर्गत कृषि क्षेत्र, विदेशमा अध्ययन गरी फर्केकाहरूले सञ्चालन गरेको उद्योग व्यवसाय, पर्यटकीय क्षेत्रको रुपमा सम्भाव्य रहेका तर उल्लेख्य रुपमा विकास हुन नसकेका क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्ने उद्योग तथा कोभिड–१९ का कारण सञ्चालन हुन नसकेका तर भविष्यमा सञ्चालन हुने सम्भावना रहेका उद्योगहरू छन् ।

    तर व्यक्तिगत कर्जा, अन्य अनुदानप्राप्त कर्जा, २० प्रतिशतभन्दा बढी नाफामा रहेका उद्योगलाई प्रदान गरिएको कर्जा, नकारात्मक वस्तुहरु चुरोट, सुर्ती, मदिरा लगायतका उद्योगहरु यस्तो पुनर्कर्जाको लागि अयोग्य हुनेछ ।

    यसरी पुनर्कर्जा दिँदा सीमान्तकृत समुदाय, लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर सबै शाखाका ऋणी समावेश हुनेगरी पुनर्कर्जा प्रवाह गर्नुपर्ने भनिएको छ । दोस्रोपटक पुनर्कर्जाको आवेदन दिनेलाई भन्दा नयाँलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रबैंकले मर्जरको प्रक्रियामा रहेका तथा यो चालू आर्थिक वर्षमा मर्जर वा प्राप्ति प्रक्रिया सम्पन्न गरेका वित्तीय संस्थालाई यस्तो पुनर्कर्जामा प्राथमिकता दिने व्यवस्था समेत गरेको छ ।

    यसरी प्रवाह हुने कर्जा कर्जा अवधि सकिनु अगावै जुनसुकै बेला भुक्तानी गर्न सकिने व्यवस्था समेत गरिएको छ । तर अवधि समाप्त हुँदा पनि भुक्तानी नभएका कर्जाको हकमा १ प्रतिशत थप व्याजदर लिनसक्ने उल्लेख गरिएको छ । त्यसरी जरिवाना तिर्नेले अर्को ६ महिना पुनर्कर्जा लिन सक्ने छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २० २०७७०३:१४:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend