काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको छ ।
सोमवार भएको भेटवार्तामा बढ्दो कोरोनाको संक्रमण नियन्त्रणका लागि सहजीकरण गर्न सेना परिचालनको विषयमा कुराकानी भएको जनाइएको छ ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको पुष्टि गरेपनि के विषयमा छलफल भएको भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् ।
तर प्रधानमन्त्री निकट स्रोतले भने सेना परिचालनको सन्दर्भमा भेटवार्ता भएको जनाएको छ । सेना परिचालनका विषयमा केही दिनअघिको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो ।
संविधानको धारा २६७ को उपधारा (६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनसक्ने उल्लेख गरिएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारले विदेशबाट ल्याउने नेपालीको व्यवस्थापन र देशभरको क्वारेन्टाइनको व्यवस्थापनका लागि सेना परिचालन हुनसक्ने बताए । सेना परिचालनका लागि सरकारले गृहकार्य गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।