काठमाडौं – कोरोना भाइरस संक्रमणको आशंका लागेका व्यक्तिलाई राख्न आइसोलेसन नभएपछि दैलेखको भैरवी गाउँपालिकाले आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका ४ जनालाई भैंसीगोठमा राखिएको छ ।
शनिवार परीक्षणका क्रममा पोजिटिभ भएपछि शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनबाट भैंसीगोठमा पठाइएको छ ।
भारतबाट १० दिनअघि आएका ती व्यक्ति ३ नम्बर वडाको देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । आरडीटी पोजिटिभ देखिएपछि अरुलाई पनि सर्ने भन्दै स्थानीयको गोठमा पठाइएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी विष्टले बताएकी छन् ।
‘यहाँ आइसोलेसन छैन,’ उनले भनेकी छन्, ‘क्वारेन्टाइनमा राख्दा अरुलाई सर्ने देखिएपछि सुरक्षित रुपमा भैसीगोठमा लगिएको हो ।’ ती व्यक्तिलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।
उपाध्यक्ष विष्टका अनुसार क्वारेन्टाइनमा एउटै कोठामा ५० जनालाई राखिएको छ । ‘एक्कासी धेरै मानिस भित्रिएपछि व्यवस्थापनमा समस्या भयो,’ उनले भनिन्, ‘अन्य ठाउँका क्वारेन्टाइन पनि भरिएपछि एउटै कोठामा धेरैलाई राख्नुपर्ने बाध्यता भएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।