काठमाडौं – नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको घटनालाई भारतको राजनीतिक, कूटनीतिक र रणनीतिक समुदायले फरक–फरक प्रतिक्रिया जनाएका छन् ।
भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कंग्रेसका नेता, अहिलेका मन्त्रीले नेपालप्रति नरम प्रतिक्रिया जनाएका छन् । तर भारतीय विदेश मन्त्रालय, सेनासहितका रणनीतिक समुदाय र कूटनीतिक निकायका प्रतिक्रिया भने नकारात्मक छन् । यद्यपि वार्ताबाट समस्याको समाधान हुनुपर्नेमा भने सबैको एकमत छ ।
भारतीय जनता पार्टीका पूर्व अध्यक्ष एवं रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकका सम्बन्धमा नेपालसँग छलफल गरेर समस्या समाधान गर्ने बताएका छन् । शनिवार भारतीय टेलिभिजन आजतक र एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा सिंहले नेपालले नयाँ नक्सा जारी गरेको घटनालाई सामान्य रुपमा व्याख्या गरे ।
‘लिपुलेकबारे नेपालमा देखिएको परिस्थितिबारे म जानकार छु । परिस्थिति हाम्रो नियन्त्रणमा छ,’ आजतकलाई दिएको अन्तर्वार्तामा सिंहले भने, ‘हाम्रो नातेदार मात्र नभएर पारिवारिक सम्बन्ध भएको भाइ मुलुक नेपालसँग बसेर समस्याको समाधान गर्छौं । नेपालसित समस्या छैन ।’
रक्षामन्त्री सिंहले बैशाख २६ गते भारतको पिथौरागढदेखि लिपुलेक पास जोड्ने ८० किलोमिटर सडकखण्डको उद्घाटन गरेपछि नेपालले कडा प्रतिक्रिया जनाउँदै नयाँ नक्सा जारी गरेको छ । भारतीय रक्षामन्त्री सिंहले नेपालसँग पारिवारिक सम्बन्ध रहेको र परिस्थिति भारतको नियन्त्रणमै रहेको जिकिर गरे ।
एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा पनि सिंहले नेपालमा गलत भावना पैदा भएको तर नेपालसँग छलफलमार्फत समस्या समाधान गर्ने बताए । ‘कहीँ गलत भावना पैदा भयो भने नेपालसँग छलफल गर्छौं । नेपालसँग केही फरक मत छ भने बसेर समाधान गर्छौं । यो ठूलो कुरा होइन,’ रक्षामन्त्री सिंहले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
नेपाललाई चीनले सहयोग गरिरहेको भन्ने पत्रकारको प्रश्नमा रक्षामन्त्री सिंहले भने, ‘नेपाललाई कसले हावा दिइरहेको छ भनेर म कसैलाई लाञ्छित गर्न चाहन्नँ । नेपालसँग बसेर छलफलमार्फत समस्या समाधान गर्छौं ।’
भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले भने नेपालले अर्को देशको उक्साहटमा नयाँ नक्सा जारी गरेको प्रतिक्रिया दिएकोमा सेनाको राजनीतिक नेतृत्व गर्ने रक्षामन्त्रीको नरम धारणा आएको छ ।
भारतीय सेनाका स्थल सेनाध्यक्ष नरभणेले गत जेठ २ गते मनोहर पारिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिसको सेमिनारमा नेपालले अरू कसैको उक्साहटमा भारतविरोधी सेन्टिमेन्ट पैदा गरेको आरोप लगाएका थिए । त्यसको भारतभित्रै चर्को आलोचना हुँदै आएको छ ।
जयन्तप्रसाददेखि पूर्वलेफ्टिनेन्ट जनरल डिएस हुडाले सेनापतिको अभिव्यक्ति अशोभनीय भएको टिप्पणी गर्दै आएका छन् । द प्रिन्टलाई एक साताअघि दिएको भिडियो अन्तर्वार्तामा जनरल हुडाले भनेका छन्, ‘कूटनीतिक निकायहरूले सम्हाल्नुपर्ने मामिलामा सेनाध्यक्षले विरोधाभासपूर्ण अभिव्यक्ति दिनु शोभनीय हुँदैनथ्यो । यो मामिला कूटनीतिज्ञहरूलाई नै छाडिदिनुपर्छ ।’
भारतीय राष्ट्रिय कंग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले जेठ १३ गते आयोजित पत्रकार सम्मेलनमा नेपालसँग सीमा विवादबारे जानकारी नदिएको भन्दै भारत सरकारको आलोचना गरेका थिए । गान्धीले नेपाल र चीनसँग सीमा विवादका कारण र सरकारले कसरी परिस्थिति सम्हालिरहेको छ भन्नेबारे सरकार अपारदर्शी भएको आरोप लगाए । उनको भनाइ थियो, ‘नेपालसँग सीमाको इस्यु छ । यसमा के हुँदैछ, कसरी हुँदैछ भन्ने विस्तृत जानकारी पारदर्शी रूपमा सरकारले देशलाई दिनुपर्छ । यसबारे कोही पनि स्पष्ट छैन । नेपालमा के भयो, कुन प्रकारले भयो, कसरी भयो ?’
भाजपाका वरिष्ठ नेता डा. सुब्रमण्यम स्वामीले शुक्रवार भारतीय कूटनीतिज्ञले नेपाली समकक्षीहरूसँग राम्रो भाषा प्रयोग नगरेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका थिए । स्वामीले शुक्रवार ट्विट गर्दै नेपाली समकक्षीहरूसँग विनम्र भाषा प्रयोग गर्न मोदीले भारतीय विदेश मन्त्रालयका कूटनीतिज्ञलाई निर्देशन दिनुपर्ने उल्लेख गरेका छन् ।
स्वामीले भनेका छन्, ‘नेपाली हाम्रो रक्त सम्बन्धको भाइ हो । नेपालीहरूले यदि आफूलाई अलिकति विमुख भएको महसूस गर्छन् भने हामीले यसलाई महसूस गर्दै उनीहरूलाई शान्त पार्नुपर्छ ।’ नेपाल–भारत सम्बन्ध बिग्रिँदा पाकिस्तानको खुफिया एजेन्सी आईएसआईले उत्सव मनाउने जिकिर गर्दै स्वामीले नेपाल–भारत सीमा भएर ९० प्रतिशत भारतविरोधी जालसाजी गतिविधि हुने गरेको पनि आरोप लगाएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमानाका विषयमा नेपालले होशियारी साथ विचार गरिरहेको जानकारी पाएको भन्दै पारस्परिक सम्मान र संवेदनशीलताका आधारमा वार्ता गर्नुपर्ने बताएका थिए ।
दिल्लीमा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा श्रीवास्तवले भने, ‘सीमाका सम्बन्धमा नेपालमा भइरहेका घटनाक्रमलाई हामीले अनुगमन गरिरहेका छौं । हामीले यो पनि नोट गरेका छौं कि नेपालले यो मामिलामा होशियारीका साथ विचार गरिरहेको छ ।’
भारत आपसी भरोसा र विश्वासको वातावरणमा पारस्परिक संवेदनशीलता र सम्मानको आधारमा संवाद गर्न खुला रहेको उनको भनाइ थियो ।
केही दिनअघि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने सहसचिव पियूष श्रीवास्तवसँग भेटेर वार्ताका लागि परिस्थिति बनाउनुपर्ने धारणा राखेका छन् ।
भारतले बैशाख २६ गते पिथौरागढबाट नेपालको कालापानी हुँदै लिपुभन्ज्याङ जोड्ने ८० किलोमिटर सडकमार्ग उद्घाटन गरेपछि नेपालले परराष्ट्र मन्त्रालयमार्फत बैशाख २७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको भन्दै एकतर्फी सडक निर्माण अमान्य हुने स्पष्ट पारेको थियो ।
त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त वक्तव्यमार्फत सडक निर्माण मान्य नहुने बताएका थिए ।
भारतीय विदेश मन्त्रालयले भने बैशाख २७ गते जारी विज्ञप्तिमा भारतीय भूभागमा सडक निर्माण गरेको जिकिर गर्दै लकडाउन सकिएपछि परराष्ट्रसचिवस्तरीय वार्तामा बस्न तयार भएको उल्लेख गरेको थियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख २९ गते भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर नेपालका तर्फबाट कूटनीतिक नोट (विरोधपत्र) हस्तान्तरण गरे भने राजदूत क्वात्राले मन्त्री ज्ञवालीलाई भारतीय विदेश मन्त्रालयको विज्ञप्ति हस्तान्तरण गरेका थिए ।
नेपाल सरकारले गत जेठ ४ गते लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार जेठ ७ गते भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।