आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अब घरमै बसेर कोरोना संक्रमितको उपचार ! सरकारले बनाउन सकेन पर्याप्त अस्पताल

अब घरमै बसेर कोरोना संक्रमितको उपचार ! सरकारले बनाउन सकेन पर्याप्त अस्पताल

  • मिडिया डबली
  • आइतवार, जेठ १८ २०७७

  • 4.8K
    SHARES

  • अब घरमै बसेर कोरोना संक्रमितको उपचार ! सरकारले बनाउन सकेन पर्याप्त अस्पताल

    काठमाडौं – कोभिड–१९ ले गत माघको पहिलो साता नै चेतावनी दिएपछि जेठ मध्यसम्म सवा ४ महिनामा सरकारले देशभर जम्मा १६ सय २४ आइसोलेसन बेड बनाएको छ ।

    तर शनिवारसम्म नेपालमा संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । अस्पतालमा बेड नहुने भएपछि अब संक्रमितले घरमै उपचार गर्नुपर्ने अवस्था आएको छ ।

    संक्रमितमध्ये २१९ जना निको भएर घर गएका छन् । ‘११ सय ७६ जना संक्रमित अहिले अस्पतालमा छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन् ।

    कोभिड अस्पतालमा अब ४४८ जना संक्रमित मात्रै भर्ना गर्न सक्ने क्षमता छ । सरकारले केही अस्थायी क्लिनिकमा करीब ४०० संक्रमित राख्न सकिने जनाएको छ । तर संक्रमणको गति र सरकारको तयारीबीच कतै पनि तालमेल देखिएको छैन ।

    ‘नेपालमा करिब १५ सयसम्म संक्रमित हुने अनुमानका आधारमा तयारी गरिएकोमा संक्रमण तीव्र गतिमा फैलिएकाले अब उपचारको व्यवस्था नै परितर्वन गर्नुपर्ने अवस्था आएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । मन्त्रालय स्रोतका अनुसार अब घरमा बसेका तर गम्भीर समस्या नभएका संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लागू गर्ने तयारी सरकारको छ ।

    अस्पतालमा भर्ना भएका तर स्वास्थ्य सामान्य भएका संक्रमितलाई पनि घर पठाइने विषयमा छलफल भएको छ ।

    ‘स्वास्थ्य सामान्य भएका अथवा लक्षण नै नदेखिएका संक्रमितलाई अस्पतालमा लगेर उपचार गराउन सम्भव देखिएन । अब संक्रमितलाई पनि स्वास्थ्य अवस्थाका आधारमा वर्गीकरण गरेर सेवा दिने भएको हो,’ मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘यो विषयमा छलफल भइरहेको छ तर निर्णय भइसकेको छैन ।’

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड अस्पताललाई पनि ३ समूहमा वर्गीकरण गरिनेछ । मृत्युसँग लडिरहेका अन्तिम अवस्थाका बिरामी, गम्भीर बिरामी र सामान्य बिरामीलाई अलग–अलग समूहमा राखिनेछ । कोभिड संक्रमितको संख्या धेरै देखिएका र मृत्युको संख्या बढी भएका देशमा पनि यही सूत्रमा उपचार भइरहेकाले नेपालमा त्यही अनुसरण गर्न थालिएको मन्त्रालयको भनाइ छ ।

    हालसम्म भारतमा श्रम गर्न गएका युवामा मात्र संक्रमण भेटिएकाले मृत्युको संंख्या नियन्त्रित छ । तर समुदायमा संक्रमण फैलिएमा दीर्घरोगी, वृद्धवृद्धालाई यसले बढी असर गर्नेछ । ‘हामी आजसम्म यो मानेमा भाग्यमानी छौं, धेरै संक्रमितमा लक्षण नै छैन, भए पनि सामान्य छ । तर मृत्युको संख्या पनि बढ्दै गएकाले सचेत भने हुनैपर्ने देखिएको छ,’ डा. देवकोटाले भने ।

    कोभिड संक्रमण फैलिए पनि परीक्षणको गति भने सन्तोषजनक रूपमा बढेको छैन । हाम्रा प्रयोगशालाको सीमित क्षमताले असीमित परीक्षण थेग्न सकेका छैनन् । शनिवारसम्म देशभर ९ हजार ४३० नमुना प्रयोगशालामा ‘होल्ड’ भएका छन् ।

    दैनिक रूपमा नयाँ आउने नमुनाको संख्या धेरै छ तर परीक्षण गरेर रिपोर्ट दिने संख्या सीमित छ । त्यसैले प्रयोगशालामा नमूना थुप्रिँदै जान लागेको प्रयोगशाला प्रमुखहरूले बताएका छन् ।

    देशभर २० ठाउँमा कोभिड प्रयोगशाला स्थापना भए पनि अहिले १८ मात्रै सञ्चालनमा छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ‘अनावश्यक’ परीक्षणले भार धान्न नसकेको बताए । ‘विदेशबाट आएको र संक्रमितको सम्पर्कमा रहेको जस्ता मापदण्डमा पर्ने व्यक्तिको मात्रै नमूना संकलन हुनुपर्ने हो । तर अहिले मापदण्डभन्दा बाहिरका व्यक्तिले पनि नमूना दिएका छन्, त्यसैले परीक्षण सक्न गाह्रो छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    परीक्षणमा सबैभन्दा बढी भार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई परेको छ । वीर र पाटन अस्पतालले ज्यादै कम नमुना परीक्षण गर्दा केन्द्रीय प्रयोगशालालाई भार परेको प्रयोगशालाका अधिकारीहरू बताउँछन् । यी दुई अस्पतालका प्रयोगशालाले दैनिक ४०० सम्म परीक्षण गर्ने क्षमता राख्छन्, तर अहिले ५० देखि ६० को हाराहारीमा मात्रै नमुना परीक्षण गर्दै आएका छन् । प्रदेश २ बाट पनि धेरै नमूना केन्द्रमा आउँछ ।

    सीमित स्रोत र जनशक्तिका कारण अहिलेको माग थेग्न नसकिने प्रयोगशाला प्रमुखहरूको भनाइ छ । प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशाला प्रमुख राजेन्द्र गिरी भन्छन्, ‘सकेसम्म धेरै नमूना संकलन गर्नु राम्रो हो तर मापदण्डभित्र पर्ने नमुना आए परीक्षणमा सहज हुने थियो, अन्यथा हाम्रो स्रोत र जनशक्तिले धान्न नसक्ने अवस्था छ ।’

    प्रदेश १ का जनस्वास्थ्य प्रयोगशाला निर्देशक जयविन्द्र यादवले पीसीआर मशिनको क्षमता कम भएकाले नमूना ‘होल्ड’ गर्नुपरेको बताए । उनका अनुसार प्रदेशको प्रयोगशालाको क्षमता दैनिक ४०० परीक्षण गर्ने हो भने नमूना भने दैनिक १ हजार संकलन हुने गरको छ । उनले भने, ‘कोभिड परीक्षणका लागि अटोमेटिक मेसिनको आवश्यकता देखिएको छ ।’

    अहिले अन्य रोगका बिरामीको उपचार गर्दा अस्पतालले पीसीआर रिपोर्ट खोज्न थालेका छन् । अदालतले कैदीलाई अदालतभित्र प्रवेश गराउनुअघि पनि पीसीआर परीक्षणको रिपोर्ट खोज्ने, नाकाबाट आएका सबैको पीसीआर परीक्षण अनिवार्य गर्ने, राजनीतिकर्मीहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी, भाडामा बस्ने सबैको पीसीआर परीक्षण नै गर्नुपर्ने दबाबले तत्काल परीक्षण गर्नुपर्ने नमूना समेत ओझेलमा परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १८ २०७७०१:४०:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend