आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुकुम घटनाको दर्दनाक दृश्य, पोस्टमार्टम रिपोर्टले खोल्यो रहस्य !

रुकुम घटनाको दर्दनाक दृश्य, पोस्टमार्टम रिपोर्टले खोल्यो रहस्य !

  • मिडिया डबली
  • शनिवार, जेठ १७ २०७७

  • 7.8K
    SHARES

  • रुकुम घटनाको दर्दनाक दृश्य, पोस्टमार्टम रिपोर्टले खोल्यो रहस्य !

    जाजरकोट – पश्चिम रुकुममा भएको हत्याकाण्डमा पोस्टमार्टम रिपोर्टले दर्दनाक दृश्य देखाएको छ ।

    भेरी नदीमा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

    पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन् ।

    मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले बताएका छन् । ‘मृतकहरूको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’

    उनका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरूको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृतकको शरीरका विभिन्न नमूना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ ।

    गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले शुक्रवारदेखि काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेतको टोलीले शुक्रवार मृतक सन्दीप विकको शव समेत अवलोकन गरेको थियो । यसका साथै समितिले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको छ ।

    जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टोली घटनास्थलतिर गएर थप अनुसन्धान गर्ने बताएका छन् । गृह मन्त्रालयले सहसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित छानबिन समिति गठन गरेको छ ।

    दलित अधिकारकर्मीले जाजरकोट पुगेको समितिलाई निष्पक्ष छानबिनको मागसहित ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । यसअघि कर्णाली प्रदेशसभाका सदस्यहरु रातो कामी, झुपा विक, सीता नेपालीलगायतले जाजरकोट पुगेर घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेका थिए ।

    समितिका संयोजक बस्नेतले सरकारले दिएको म्यान्डेटअनुसार निष्पक्ष छानबिन गर्ने बताए । ‘घटना तोडमोड हुँदैन, तपाईंहरु ढुक्क हुनुहोस्,’ उनले भने, ‘सत्यतथ्य बाहिर आउँछ ।’

    पीडित परिवारले भने घटनालाई तोडमोड गर्ने प्रयास भएको आरोप लगाएका छन् । रुकुममा केही स्थानीय र जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको बताए ।

    ‘घटनामा वडाध्यक्ष डम्बर मल्ल प्रमुख दोषी हुन्, उनकै संलग्नतामा यो सब भएको छ,’ नवराजका बुवा मुनलालले भने, ‘तर अहिले नेताहरूले अपराधीलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’ मल्ल पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष हुन् भने उनलाई पूर्वमन्त्री जनार्दन शर्माको संरक्षण रहेको बताइन्छ ।

    कुटेर मारेपछि भेरीमा फालेको थाहा हुँदाहुँदै केटाहरूले आफैं भेरीमा हामफाले भन्दै अफवाह फैलाएर दोषीलाई बचाउने प्रयास भएको उनले बताएका छन् ।

    जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीका स्थानीयले जाजरकोटतर्फबाट आएका युवामाथि आक्रमण गरेका थिए । सोतीकै १७ वर्षीया मल्ल थरकी किशोरीसित प्रेम सम्बन्ध रहेको र उनलाई बिहेका लागि भगाउन भनेर आएका युवाहरुको समूहलाई गाउँलेले लखेटेर हत्या गरेको पीडित पक्षको भनाइ रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १७ २०७७०२:१८:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend