झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कोरोना संक्रमितको बिजोग भएको छ ।
शुक्रवार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि संक्रमित अलपत्र परे ।
अस्पतालले भर्ना नलिएपछि संक्रमितहरू शुक्रवार रातभर अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार अपराह्न ती व्यक्तिहरू कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।
पुष्टिलगत्तै कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो तर धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरू रातभरि गेटबाहिरै अलपत्र परेका छन् ।
१ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले बताए ।
‘संक्रमण पुष्टि भएकाहरूलाई धरान नै पठाइरहेका थियौं । मन्त्रालयको समन्वयमा उनीहरूलाई पनि धरान पठाएका हौं,’ चम्लागाईले भने, ‘तर अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएको छैन । संक्रमतिहरू रातिदेखि अस्पतालको गेट बाहिर बसिरहेका छन् ।’
झापामा कोभिड संक्रमितको संख्या १ सय ५ पुगेको छ । संक्रमितमध्ये कचनकवल गाउँपालिकामा मात्र १०० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने अन्य सबैको उपचार भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।